गृहपृष्ठ सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई घुसकाण्डमा दोषी ठहर

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई घुसकाण्डमा दोषी ठहर


बुटवल, २२ वैशाख ।

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु र कर्मचारी दीपेश यादव घुसकाण्डमा दोषी ठहर भएका छन्। विशेष अदालतले सोमबार सुनाएको फैसलामा उनीहरूलाई कैद र जरिवाना सजाय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुविरुद्ध गत कात्तिक ३० गते र यादवविरुद्ध माघ २८ गते भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो। यादवले नगरपालिकाबाट एक होटेललाई बिल भुक्तानी गरिदिने सन्दर्भमा कानुले घुस मागेको सूचना आयोगलाई दिएका थिए। त्यसपछि हेटौँडास्थित अख्तियारको टोलीले कानुलाई ७८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो।

तर, यादवले पछि अदालतमा बयान फेरेपछि उनीविरुद्ध पनि प्रतिकूल बकपत्र (विरोधाभासी बयान) को आधारमा मुद्दा दायर गरिएको थियो।

अदालतले कानु र यादव दुवैलाई घुस लिएको प्रमाणित गर्दै जनही ३९ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको हो। साथै, उनीहरूबाट बरामद घुस रकम जफत गरिनेछ। पीडित राहत कोषमा दुवैले जनही १५६० रुपैयाँ बुझाउनु पर्ने समेत फैसला गरिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रामबहादुर थापाको इजलासले उक्त फैसला सुनाएको हो।

फैसलामा अडियो-भिडियो रेकर्ड, स्वर परीक्षण प्रतिवेदन (फरेन्सिक रिपोर्ट) जसमा कानुको आवाज ९९ प्रतिशत मिलेको प्रमाणित गरिएको थियो, नोट नम्बरको मिलान, बरामदी मुचुल्कालगायतका प्रमाण आधार बनाइएका थिए। ती प्रमाणले यादवले दिएको सूचना सत्य ठहर भएको पुष्टि गरेपछि अदालतले दोषी ठहर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु