गृहपृष्ठ नक्कली कागजात बनाउने गिरोह पक्राउ, सरकारी छापदेखि मेडिकल रिपोर्टसम्म किर्ते

नक्कली कागजात बनाउने गिरोह पक्राउ, सरकारी छापदेखि मेडिकल रिपोर्टसम्म किर्ते


काठमाडौँ —  विभिन्न सरकारी तथा निजी कागजातहरू किर्ते गरी नक्कली बनाउने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित स्थानमा छापा मारेर नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा तारकेश्वर–२ देवीचोककी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुंगा घर भई बुढानीलकण्ठ–१२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरि–१, दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री छन्।

प्रहरी अनुसन्धान अनुसार बयलकोटीले विगत आठ वर्षदेखि सरकारी तथा निजी कार्यालयका कागजात, सिफारिसपत्र, शैक्षिक प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमतिपत्रलगायत कागजात नक्कली बनाउँदै आएकी थिइन्। उनले यो कार्यका लागि दुई जना सहायकलाई मासिक १०–१५ हजार रुपैयाँ तलबमा नियुक्त गरेकी थिइन्।

उनीहरूको गिरोहले डिपेन्डेन्ट भिसा, विवाह प्रमाणपत्र, बैंक ऋणका लागि आवश्यक पर्ने नक्कली पुर्जा बनाइदिने गरेको खुलेको छ। यस्तै, जापान जाने विद्यार्थीहरूका लागि सहकारी संस्थाका नक्कली स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाउने कार्य पनि फेला परेको छ।

प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामसम्म उपलब्ध गराउने, विदेशमा रोजगारीका लागि आवश्यक पर्ने शैक्षिक तथा अनुभव प्रमाणपत्र बनाइदिने, साथै पीआर र ग्रीनकार्डका लागि आवश्यक पर्ने मनमोहन मेमोरियल, सल्यान जिल्ला अस्पताल र वीर अस्पतालका नक्कली मेडिकल कार्डसमेत बनाउँदै आएको पाइएको छ।

यसका अतिरिक्त, भिजिट भिसाका लागि ‘क’ वर्गका सबै बैंकको नक्कली स्टेटमेन्ट बनाउने कार्यमा समेत उनीहरूको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु