गृहपृष्ठ बुटवलका प्रतिष्ठित व्यवसायीहरूविरुद्ध राजस्व छलीको मुद्दा, १ करोड ४४ लाख बराबरको जरिवाना माग
बुटवलका प्रतिष्ठित व्यवसायीहरूविरुद्ध राजस्व छलीको मुद्दा, १ करोड ४४ लाख बराबरको जरिवाना माग
बुटवल, रूपन्देही । साना सवारीसाधनका महँगा पार्टपुर्जा तस्करी गरी राजस्व छली गरेको अभियोगमा बुटवलका प्रतिष्ठित व्यवसायी दधिराम खरेल र जगन्नाथ खनालविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ।
राजस्व अनुसन्धान विभाग बुटवलले बिहीबार दायर गरेको मुद्दामा खरेल र खनाल सञ्चालक रहेको शुभलक्ष्मी अटो लिङ्क प्रालि मार्फत मोटर पार्टपुर्जाको आयात र विक्री वितरणमा व्यापक अनियमितता देखिएको उल्लेख छ। विभागका अनुसार ती व्यवसायीहरूले पार्टपुर्जा खरिद गर्दा मौज्दात किताबमा प्रविष्ट नगरेको, बील नदिई बिक्री गरेको, बिक्री अभिलेख नदेखाएको र गोदाममा मौज्दात विवरणभन्दा बढी सामान फेला परेको पुष्टि भएको छ।
राजस्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार तिलोत्तमा नगरपालिका–४ निवासी खनाल (४८) र खरेल (५४) को गोदाम तथा वर्कसपमा गरिएको निरीक्षणबाट नियमविपरीतको कारोबार पुष्टि भएको हो। विभागले उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ तथा संशोधनसहितको दफा २०९६० अनुसार कारबाही अघि बढाएको जनाएको छ।
मुद्दामा ७२ लाख ११ हजार ३ सय रुपैयाँ बिगो कायम गरिएको छ भने सोही रकमको शतप्रतिशत जरिवानासहित कुल १ करोड ४४ लाख २२ हजार ६ सय रुपैयाँ असुल उपर गर्न माग गरिएको छ। साथै, उनीहरूलाई हदैसम्मको कैद सजाय दिनुपर्ने मागसमेत गरिएको छ।
दधिराम खरेल नेपालकै चर्चित बस व्यवसायीका रूपमा परिचित छन्। उनी पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष समेत हुन्, जसले साबिकको पश्चिम नेपाल बस व्यवसायी समितिको रूप लिएको हो। लामो समयदेखि उनी यस क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। पछिल्लो समय तस्करी र राजस्व छलीका घटनामा राजनीतिक पहुँच भएका व्यक्तिहरू मुछिन थालेकोप्रति विभागले चिन्ता व्यक्त गरेको छ।










