गृहपृष्ठ पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि तीन अर्बको भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा

पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि तीन अर्बको भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा


१ जेष्ठ २०८२, बिहीबार

काठमाडौं — नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिहरूमाथि दूरसञ्चार ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (TMFC) खरिद प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो र सजाय माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

पूर्वमन्त्री बस्नेतले सरकारमा रहँदा TMFC प्रणाली खरिद प्रक्रियामा प्रभावशाली भूमिका निर्वाह गर्दै भ्रष्टाचारमा संलग्न भएको आयोगको दाबी छ।

मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती समेत प्रतिवादीका रूपमा छन्।

त्यस्तै, प्राधिकरणका तत्कालीन निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरन्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्रसमेत मुद्दामा संलग्न छन्।

प्राधिकरणका वर्तमान तथा पूर्व निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

यसबाहेक, सो परियोजनामा संलग्न परामर्शदाता कम्पनी “भनराइन सोलुसन” का सीईओ जमल अनौती, नेपालस्थित एजेन्ट कार्यालयका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलसमेत प्रतिवादी बनाइएको छ।

उनीहरू सबैमाथि एकैपटक तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढीको बिगो असुल्नुपर्ने मागसहित विशेष अदालतमा मुद्दा चलाइएको आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु