गृहपृष्ठ रुपन्देही– २ मा डा . निकाेलसले गरे रास्वपालाइ समर्थन
रुपन्देही– २ मा डा . निकाेलसले गरे रास्वपालाइ समर्थन
१८ फागुन २०८२
कल्पना घिमिरे
रुपन्देही, — रुपन्देही क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल (निकोलस) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुलभ खरेललाई समर्थन गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार जारी प्रेस विज्ञप्तिमा भुसालले नेपालको राजनीति नयाँ दिशातर्फ अग्रसर हुनुपर्ने ऐतिहासिक आवश्यकतालाई आत्मसात गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी औपचारिक रूपमा निष्क्रिय गरेको जनाएका छन्। उनले जेन–जी पुस्ताले उठाएका पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका मागहरूलाई केन्द्रमा राखेर राजनीति अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन्।
“नयाँ–नयाँ शक्तिबीचको प्रतिस्पर्धाबाट पुराना शक्ति पुनर्स्थापित हुने र फेरि प्रतिगमन नै हावी हुने अवस्था देखिएकाले यस्तो निर्णय लिनुपरेको हो,” विज्ञप्तिमा भनिएको छ।
देशमा पुराना शक्तिहरूको दोहोरिएको वर्चस्वका कारण अपेक्षित परिवर्तन सम्भव नहुने निष्कर्षमा पुगेको उल्लेख गर्दै भुसालले वैकल्पिक राजनीतिक शक्तिलाई सशक्त बनाउनु अपरिहार्य भएको बताएका छन्। सोही सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेललाई पूर्ण समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।










