गृहपृष्ठ निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
२० फागुन २०८२
बुटवल टाइम्स
काठमाडौँ — आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि देशभर शान्तिपूर्ण र व्यवस्थित वातावरण रहेको जनाएको छ।
स्थलगत अनुगमन तथा कल सेन्टरमा प्राप्त सूचनाका आधारमा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्दै जियोकले निर्वाचनपूर्वको समग्र अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालेको हो।
जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसँगको छलफल र अवलोकनका आधारमा प्रतिवेदन तयार गरिएको हो।
राष्ट्रिय पर्यवेक्षक चिरञ्जीवी खनालले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको, मतदान केन्द्र निर्माण भइरहेको तथा कर्मचारी र सुरक्षा निकाय जिम्मेवारीपूर्वक तैनाथ भएको जानकारी दिए। उनका अनुसार यसपटक राजनीतिक दलहरू गाउँ–टोलमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा केन्द्रित भएका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले हालसम्मको अध्ययनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनेको देखाएको बताए।
त्यस्तै, राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय तथा वडा कार्यालय भवनमा रहेकाले मतदातामैत्री वातावरण कायम रहेको उल्लेख गरे।
जियोकले सातै प्रदेशका ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी संकलन गरेको जनाएको छ। प्रतिवेदनमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भएको र समग्र वातावरण शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ।
रासस










