गृहपृष्ठ रास्वपा महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा सबैसँग सहकार्यको प्रतिबद्धता
रास्वपा महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा सबैसँग सहकार्यको प्रतिबद्धता
भदौ १०,२०८३
बुटवल टाइम्स
काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ।

रास्वपाले बाढीपीडितको उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। साथै, पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्ने निर्णय गरिएको छ।

बेपत्ता नागरिकको खोजी तथा उद्धार तीव्र बनाउन, प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन गर्न र घरबारविहीन परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि ठोस योजना ल्याउन रास्वपाले सरकारसँग माग गरेको छ।
विपद्को समयमा अफवाह फैलिन नदिन आधिकारिक स्रोतका सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको जनाएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा विपद्को घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।














