गृहपृष्ठ प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापना

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापना

oplus_8388608

 

बैशाख २२ , २०८३

कल्पना घिमिरे

बुटवल – प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडको नवौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापना तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन समितिका संयोजक यम बहादुर पछाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य हेमा थामी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने निवर्तमान अध्यक्ष जित बहादुर मल्ल विशिष्ट अतिथि रहनुभएको थियो। स्वागत मन्तव्य ज्याेती जिसीले र संचालन निर्वाचन समितिका सदस्य गुनाराम घिमिरेले गर्नुभएको थियो।

राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा अतिथिहरूद्वारा ब्यानर वाचन गरी उद्घाटन गरिएको थियो। त्यसपछि निर्वाचन समितिका संयोजकद्वारा निर्वाचित कार्यसमिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइ प्रमाणपत्र वितरण गरिएको थियो।

बैशाख ११ गते भएको उक्त निर्वाचनमा १५९६ सदस्यहरूले मतदान गरेका थिए। नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा कृष्ण प्रसाद चौधरी, उपाध्यक्षमा नारायण सारु, सचिवमा लक्ष्मण भण्डारी र कोषाध्यक्षमा धर्मसिंह लाम्काने मगर निर्वाचित हुनुभएको छ। सदस्यहरूमा मान बहादुर श्रेष्ठ, राजु सिंह, लक्ष्मी बिक, जित बहादुर आले, सिता अब्बु, तुलसा सोमई मगर, बाबुराम पोखरेल, कमला घिमिरे र प्रतिमा कार्की निर्वाचित भएका छन्। लेखा सुपरीवेक्षण समितिको संयोजकमा विमला तरामु तथा सदस्यहरूमा गीता बिक र टिका सुनार रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि हेमा थामीले सहकारी संस्था स्थानीय विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र सदस्यमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न नव नेतृत्वलाई सुझाव दिनुभयो। उहाँले सहकारीले विद्युत सेवा विस्तार तथा व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न आग्रह
गर्नुभयो।

निवर्तमान अध्यक्ष जित बहादुर मल्लले शुभकामना दिदै सुरुवाती चरणमा टुकी बालेर अँध्यारो हटाउने प्रयासबाट सुरु भएको यो यात्रालाई सम्झँदा, त्यसबेलाको कठिन र कहालीलाग्दो समय अझै पनि मनमा ताजा छ। ठूलो मेहनत र संघर्षपछि यस सामुदायिक विद्युत सहकारी संस्थाको स्थापना सम्भव भएको बताउनु भयो ।

मल्लले भन्नुभयो” बस्ती विस्तारको क्रममा अनेकौं समस्याहरू आए तापनि ती सबै चुनौतीहरूको सामना गर्दै संस्था आजको अवस्थासम्म आइपुगेको छ, जुन अत्यन्तै प्रशंसनीय उपलब्धि हो , अब नयाँ कार्यसमितिले अझ नयाँ सोच र योजनासहित संस्थालाई थप उचाइमा पुर्‍याउनेछ भन्ने विश्वासका साथ उहाँहरूलाई पनि हार्दिक शुभकामना व्यक्त गर्दछु ” साथै, निर्वाचन समितिलाई निष्पक्ष, निर्भय र सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयाे ।
नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद चौधरीले आफुले सस्थालाइ हरसंभव प्रयास गरि संस्थाकाे थप प्रगति र सदस्यहरूकाे सेवामा केन्द्रीत रहेर काम गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु