गृहपृष्ठ आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
४ माघ २०८२
काठमाडौं — निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार गर्न पाइने जनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ। सोही प्रावधानअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार–प्रसार गर्न आग्रह गरेको छ। दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न सक्नेछन्। आमसभा तथा कोणसभा गर्दा मञ्च व्यवस्थापन लगायतका खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अपनाउने स्पष्ट पारेको छ। उल्लङ्घन पुष्टि भएमा स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
निर्वाचनका क्रममा सामाजिक सञ्जाल वा अनलाइन माध्यममार्फत मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने पनि आयोगले उल्लेख गरेको छ।










