गृहपृष्ठ १२ लाख रोजगारीसहित रास्वपाको मतदातासँग ‘करार’ अभियान सार्वजनिक
१२ लाख रोजगारीसहित रास्वपाको मतदातासँग ‘करार’ अभियान सार्वजनिक
३ माघ २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातासँग ‘करार’ गर्ने अभ्यास सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत करारपत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक करारपत्रमा पार्टीका पाँच प्राथमिकता र लक्ष्य समेटिएका छन्। सदाचार र सुशासनअन्तर्गत सरकारी सेवाको डिजिटल डेलिभरी विस्तार गर्ने तथा ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा सुधार ल्याउने उल्लेख छ।
आर्थिक क्षेत्रतर्फ औसत वार्षिक प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, आधुनिक बैंकिङ सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने तथा सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने प्रतिबद्धता जनाइएको छ।
रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ। सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग तथा सेवा क्षेत्रमा रोजगारी वृद्धि गरिने करारपत्रमा उल्लेख छ। त्यस्तै, १५ हजार मेगावाट विद्युत् जडित क्षमता विस्तार गर्ने, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने र १० वटा राष्ट्रिय महत्वका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार सुनिश्चित गर्ने, वंशजको नागरिकताको निरन्तरता कायम गर्ने तथा डायस्पोरा फण्ड कार्यान्वयन गर्ने विषय पनि करारपत्रमा समावेश छन्।
करारपत्रमा उल्लिखित सर्तहरू पाँच वर्षभित्र पूरा गर्न नसके मतदाताले राजनीतिक रूपमा दण्डित गर्न सक्ने उल्लेख गरिएको छ। पार्टीका अनुसार देशभरका उम्मेदवारलाई करारपत्र वितरण गरिनेछ र स्थानीय मुद्दा समेटेर थप प्रतिबद्धता जनाइनेछ।
Get smarter responses, upload files and










