गृहपृष्ठ स्थानीय तह निर्वाचनअघि देशभरका मतदान स्थल पुनरावलोकन गर्दै आयोग

स्थानीय तह निर्वाचनअघि देशभरका मतदान स्थल पुनरावलोकन गर्दै आयोग


 

मंसिर  १० , २०८३

बुटवल टाइम्स

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदान स्थल पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि आवश्यक सहयोग र समन्वय गर्न आयोगले सबै स्थानीय तहलाई अनुरोध गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत बुधबार देशभरका स्थानीय तहलाई परिपत्र गर्दै आयोगको निर्णय कार्यान्वयनमा सहयोग गर्न भनिएको हो।

निर्वाचन आयोगको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले मतदान स्थल पुनरावलोकन गर्ने निर्णय गरेको थियो। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको उक्त समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिव सदस्य छन्।

‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ तथा ‘कार्यक्रम कार्यान्वयन योजना, २०८३’ अनुसार सबै जिल्लाका मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमार्फत पुनरावलोकनको काम अघि बढाउने निर्णय भएको हो।

यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आयोगले मंसिर ७ गते नै गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो। गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई समन्वयका लागि पत्र पठाउन आयोगले अनुरोध गरेको थियो।

आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव युवराज गुरागाईंको हस्ताक्षर रहेको पत्र प्राप्त भएपछि मन्त्रालयले स्थानीय तहमा समन्वय अघि बढाएको हो। सोही पत्रका आधारमा मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत सुदर्शन दाहालले सबै स्थानीय तहलाई परिपत्र गरेका छन्।

वैकल्पिक शीर्षक:

  1.  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु