गृहपृष्ठ छठ पर्वको मुख्य दिन आज, देशभर अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन आज, देशभर अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २९ , २०८३
बुटवल टाइम्स
, काठमाडौं । सूर्यदेवको उपासना र आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना मनाइएको थियो भने आज षष्ठीका दिन व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।
धार्मिक मान्यताअनुसार छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरेमा परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याण हुने विश्वास गरिन्छ । यस पर्वमा बाँसका ढाकी, नाङ्लो तथा सुपामा फलफूल, ठेकुवा, कसारलगायत प्रसाद राखेर सूर्यदेवलाई अर्पण गरिन्छ ।
छठको मुख्य दिन व्रतालुहरू साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जाग्राम बस्ने गर्छन् । भोलि अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व विधिपूर्वक समापन हुनेछ ।
पहिले तराईका जिल्लामा विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय देशभर लोकप्रिय बन्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका किनारमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ ।
रासस















