गृहपृष्ठ घरेलु मदिरा प्रबर्द्धनमा सरकारको स्पष्ट नीति छैन : सांसद रणकुमारी मगर
घरेलु मदिरा प्रबर्द्धनमा सरकारको स्पष्ट नीति छैन : सांसद रणकुमारी मगर
सत्तारूढ नेकपा (एमाले)की सांसद रणकुमारी बलम्पाकी मगरले संस्कृति, परम्परा र स्थानीय जीविकोपार्जनसँग जोडिएको घरेलु मदिराको प्रवर्द्धनका लागि राज्यले अहिलेसम्म कुनै स्पष्ट नीति नलिएको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशी ब्रान्डका मदिराको आयातले देशीय मौलिक उत्पादनलाई बजारमा पछाडि पारिरहेको उल्लेख गरिन्। ‘हाम्रो मौलिकता बोकेको घरेलु मदिरा बजारमा पछाडि पर्दै गएको छ, यो चिन्ताको विषय हो,’ सांसद मगरले भनिन्।
उनले घरेलु मदिरा उत्पादनलाई लघु उद्योगका रूपमा मान्यता दिँदै नीति निर्माण आवश्यक रहेको बताइन्। ‘गुणस्तर सुधार, बजार पहुँच र प्रवर्द्धनका लागि प्रभावकारी नीति ल्याइनुपर्छ,’ उनले भनिन्, ‘कोदोको रक्सीलाई ब्रान्डिङ गरौं, यसलाई राष्ट्रिय सम्पत्तिको रूपमा विकास गरौं।’
सांसद मगरले स्थानीय उत्पादनको संरक्षण र विकासलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेकी हुन्।










