गृहपृष्ठ तराई–मधेश हुलाकी अभियान: धकधईमा प्रचण्डको अभिव्यक्तिले जनआकांक्षा झल्कियो

तराई–मधेश हुलाकी अभियान: धकधईमा प्रचण्डको अभिव्यक्तिले जनआकांक्षा झल्कियो


धकधई, ३ वैशाख — ‘जनतासँग माओवादी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय टोली रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–४, धकधईमा भव्य स्वागतका साथ प्रवेश गरेको छ।

नवलपरासी पश्चिम हुँदै रुपन्देही पुगेको टोलीलाई स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकहरूले फूलमाला, बाजागाजा र नारा जुलुससहित भव्यताका साथ स्वागत गरेका थिए। प्रचण्डले उक्त स्वागतप्रति खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए।

धकधईमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई–मधेशको समृद्धि र विकासमा केन्द्रित सम्बोधन गरे। उनले हुलाकी मार्गजस्ता पूर्वाधार योजनाहरूले जनतामा आशा पुनःजागृत गरेको बताए। “हाम्रो अभियान उपदेश होइन, जनताको वास्तविक पीडा र आशा बुझ्ने अभियान हो,” उनले भने।

प्रचण्डले स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित विकास मोडलको पक्षमा जोड दिँदै राष्ट्रिय हितमा आधारित समावेशी, सन्तुलित र दिगो विकास नै आजको आवश्यकता भएको धारणा राखे।

वैशाख ४ गते बिहीबारका कार्यक्रमहरू
रुपन्देहीमा बिहीबार प्रचण्ड नेतृत्वको टोलीले विभिन्न कार्यक्रममा सहभागिता जनाउने छ, जसको विवरण निम्नानुसार छ:

बिहान ५:३०–८:30: मर्निङ वाक र जनसंवाद (भैरहवा मिलनचोक–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल–लुम्बिनी रोड हुँदै बुद्धचोकसम्म)

बिहान ९:००–१०:००: प्रशिक्षण कार्यक्रम (युवा, विद्यार्थी र वाइसिएल सदस्यहरूका लागि – स्थान: होटल पौवा)

बिहान १०:००–११:३०: अन्तरक्रिया कार्यक्रम (बुद्धिजीवी, उद्योग व्यवसायी, नागरिक समाज – स्थान: होटल पौवा)

११:३० बजे: शहीद परिवारसँग भेटघाट तथा सामूहिक भोजन

दिउँसो २:०० बजे: मर्चवार मझगावामा बृहत आमसभा

दिउँसो ४:०० बजे: अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देही संयोजक नारायण जिसी निर्मका अनुसार, अभियानले प्रदेशस्तरीय जनसंपर्क र संवादलाई तीव्र बनाउने उद्देश्य लिएको छ।

यसअघि, बुधबार दिउँसो माओवादी केन्द्र नवलपरासी पश्चिम जिल्ला समितिद्वारा आयोजित अन्तर्क्रियामा अध्यक्ष प्रचण्ड सहभागी भएका थिए। सदरमुकाम परासीमा आयोजित उक्त कार्यक्रममा उद्योग, व्यापार, शिक्षा, सञ्चार, नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु