गृहपृष्ठ २०८४ सम्म सरकारमा नगइ जनतासँगै रहने माओवादीको रणनीतिक पुनःसंरचना

२०८४ सम्म सरकारमा नगइ जनतासँगै रहने माओवादीको रणनीतिक पुनःसंरचना


बुटवल, वैशाख ४ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र २०८४ सालसम्म सरकारमा सहभागी नहुने निर्णयमा हुलाकी राजमार्ग जागरण अभियानले थप दृढता दिएको बताएका छन्।

बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सरकारमा फर्किएर पुनः विगतजस्तै गल्ती गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारे।

उनले भने, “हामीले सरकारमा गएर पुनः त्रुटिहरू दोहोर्याउने होइन, जनताको विश्वास निर्माण गर्दै पार्टीको वैचारिक स्पष्टता र सिद्धान्तमा अडिग रहने हो।”

दाहालले भ्रष्टाचार र भूमाफियाविरुद्धको अभियान चलाएकै कारण आफ्नो नेतृत्वको सरकार अपदस्थ भएको दाबी गरे। “यदि मैले केही भ्रष्टाचारीको संरक्षण गरेको भए कांग्रेस र एमालेको समर्थन अझै पाइराख्ने थिएँ,” उनले बताए।

उनका अनुसार अहिले देशका विभिन्न भागमा ‘जनतासँग माओवादी’ अभियान अन्तर्गत हजारौं जनताको सहभागिता र भावनात्मक समर्थनले पार्टीप्रति आम जनताको भरोसा पुनः मजबुत बनेको छ।

“यो जनलहर हेर्दा हामीमाथि थप जिम्मेवारी बोध भएको छ,” प्रचण्डले भने, “सरकारमा नगई जनतासँगै रहने हाम्रो निर्णय अझै बलियो भएको छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु