गृहपृष्ठ “अर्थतन्त्रको उदारीकरण कांग्रेसकै देन हो” – मन्त्री पौडेल

“अर्थतन्त्रको उदारीकरण कांग्रेसकै देन हो” – मन्त्री पौडेल


काठमाडौं । ३० चैत
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरूको आफ्नै स्पष्ट अर्थनीति नरहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा आजको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसकै देन भएको दाबी गरे।

मन्त्री पौडेलले नेपाली कांग्रेस बाहेकका अन्य दलहरूले “मेरो अर्थनीति यिनै हुन्” भनेर दाबी गर्न नसकेको उल्लेख गरे। उनले कांग्रेसको नै अर्थनीतिमा अन्य दलहरू पनि हिँडिरहेको बताए। सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा भएका थुप्रै कामहरू कांग्रेसकै नीतिका कारण सम्भव भएको जिकिर गरे।

“आज नेपालको अर्थतन्त्र उदारीकरणतर्फ गएको छ भने त्यो कांग्रेसकै कारण हो। आज कांग्रेसबाहेक अरू कसैले आफ्नै छुट्टै अर्थनीति पेस गर्न सकेका छैनन्। कांग्रेसको अर्थनीति नै सबैले अंगालिरहेका छन्,” मन्त्री पौडेलले भने।

उनले हालको आर्थिक अवस्थालाई ध्यानमा राख्दै सरकारी खर्च कटौती गर्न आवश्यक रहेको बताए। प्रतिनिधिसभाको २७५ सदस्य संख्या घटाएर २०१ पुर्‍याउनुपर्ने र प्रदेश सभाको संख्या आधा घटाइनुपर्ने प्रस्ताव राखे। पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने तर्क गर्दै संघीय मन्त्रिपरिषद् २५ सदस्यबाट घटाएर १५ जनामा सीमित गर्नुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, मन्त्री पौडेलले शहीदहरूले बलिदान दिएर ल्याएको गणतन्त्रमाथि अहिले प्रश्न उठाउने स्थिति नरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु