गृहपृष्ठ कार्की आयोगद्वारा १० हजार भिडिओ क्लिप अध्ययन : आगजनी, तोडफोड र लुटपाटमा संलग्न सयौँ व्यक्ति पहिचान
कार्की आयोगद्वारा १० हजार भिडिओ क्लिप अध्ययन : आगजनी, तोडफोड र लुटपाटमा संलग्न सयौँ व्यक्ति पहिचान
११ फागुन २०८२
काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग ले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले थपेको अन्तिम म्यादभित्रै प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको छ।
आयोगको प्रतिवेदन फागुन २१ गतेको चुनावअघि सार्वजनिक नहुने लगभग निश्चित भएको छ। चुनावअघि प्रतिवेदन सार्वजनिक गर्दा सुरक्षा चुनौती बढ्न सक्ने तथा केही उम्मेदवार नै कारबाही सिफारिसमा पर्न सक्ने अवस्था रहेकाले सरकारले आयोगको म्याद थपेर चुनाव सहज रूपमा सम्पन्न गर्ने रणनीति अपनाएको स्रोतको भनाइ छ।
आयोग स्रोतका अनुसार भदौ २३ को घटनामा प्रत्यक्ष रूपमा कुनै व्यक्तिलाई दोषी किट्ने निष्कर्षमा आयोग पुगेको छैन। घटनाका क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मी, चेन अफ कमाण्ड र राजनीतिक नेतृत्वको भूमिकाको विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव प्रतिवेदनमा समेटिने जनाइएको छ।
भदौ २४ मा भएको विध्वंस, आगजनी, लुटपाट तथा तोडफोडमा संलग्न व्यक्तिहरूको भने भिडिओ फुटेज र फोटोका आधारमा किटान गरी कारबाही सिफारिस गर्ने तयारी गरिएको छ। आयोगका एक पदाधिकारीका अनुसार उक्त दिनका मात्रै करिब १० हजार भिडिओ क्लिप संकलन गरिएको छ। ती क्लिपहरू सुरक्षा निकाय, विभिन्न राजनीतिक दल, सर्वसाधारण, निजी उद्योग–व्यवसाय तथा घरहरूका सीसीटिभीबाट संकलन गरिएको हो।
संकलित प्रमाणका आधारमा ५ सयभन्दा बढी व्यक्तिमाथि विभिन्न कारबाही सिफारिस हुने तयारी छ। तीमध्ये करिब नौ जना हाल प्रतिनिधिसभा उम्मेदवार रहेको आयोग स्रोतले दाबी गरेको छ। अधिकांश उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रहेको बताइएको छ। यद्यपि आयोगले ती उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छैन।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार घटना विवरण संकलन, विश्लेषण र अनुसन्धानका आधारमा प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको छ। प्रतिवेदन सरकारलाई बुझाएपछि त्यसलाई सार्वजनिक गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ









