गृहपृष्ठ यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, ३७ मोबाइल बरामद

यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, ३७ मोबाइल बरामद


माघ १४, २०८२

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरूबाट ३७ वटा मोबाइल फोन बरामद गरेको हो।

कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षामा फेल भएका परीक्षार्थीहरू खोजी गरी प्रत्येक व्यक्तिबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म संकलन गरेको आरोप लागेको छ। संकलित रकम लिएर ३ महिना अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई लिखित परीक्षा दिन लगाइएको भन्ने सूचनाका आधारमा छापा मारिएको अख्तियारले जनाएको छ।

अख्तियार प्रवक्ता सुरेश न्यौपानेले कार्यालयमा टोली पुगेको पुष्टि गरेका छन्। छापाका क्रममा कार्यालय प्रमुखसहित १७ जना कर्मचारीबाट २५ वटा मोबाइल नियन्त्रणमा लिइएको छ।

त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाबाट ३ वटा मोबाइल बरामद गरिएको छ। नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.लि. का मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ वटा मोबाइल पनि नियन्त्रणमा लिइएको छ।

लिखित परीक्षा दिई फेल भएको मितिले ३ महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका तथा सम्बन्धित कागजातहरू समेत अख्तियारले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु