काठमाडौं, २७ पुस — भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ। बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी भए पनि केही ढिलोगरी प्रक्रिया अगाडि बढाइएको हो।
महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता भइरहेको छ नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एकप्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
अहिले कार्यक्रम स्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिने क्रम जारी छ। महाधिवेशनको उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तयारी छ। उद्घाटनअघि बिहान ११ बजे काठमाडौँका सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रबाट नेता तथा कार्यकर्ता भेला भई र्यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए।










