गृहपृष्ठ पर्यटनमा नीति, बजेट र पहुँच सुधार बिना प्रगति असम्भव : सरोकारवाला
पर्यटनमा नीति, बजेट र पहुँच सुधार बिना प्रगति असम्भव : सरोकारवाला
पुस ११, २०८२
बुटवल पर्यटन क्षेत्रको नीतिगत सुधार, बजेटको प्रभावकारी उपयोग र पर्यटकीय गन्तव्यहरूबीच सहज पहुँच विस्तार गर्नुपर्नेमा पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् । धार्मिक स्थलहरूमा सोहीअनुसारको पर्यटकीय वातावरण निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ ।
रुपन्देही उद्योग संघद्वारा सञ्चालन गरिएको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित “पर्यटकीय प्रवेशद्वार र पूर्वाधार : लुम्बिनी समृद्धिको आधार” विषयक पर्यटन बहसमा सहभागीहरूले लुम्बिनी प्रदेशको पर्यटन विकासका विविध पक्षमा छलफल गरेका हुन् ।
बहसमा सहभागीहरूले पर्यटकीय संघसंस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय अभियान र टुर प्याकेज सञ्चालन गर्नुपर्ने तथा भारतीय पर्यटकप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने सुझाव दिए । साथै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारसँगै निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने उनीहरूको निष्कर्ष थियो ।
लुम्बिनी पर्यटन विकास परिषदका अध्यक्ष रामु जोशीले धार्मिक र पर्यटन क्षेत्र छुट्ट्याएर योजना बनाइएको बताउँदै लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज र पाल्पालाई हिलस्टेसनका रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।
“प्रदेशले ६३० वटा गन्तव्य पहिचान गरेर योजना बनाएको छ तर बजेट अभावका कारण ठूला काम हुन सकेका छैनन्,” उहाँले भन्नुभयो । संरचना बने पनि सजावट र पहिचान अभाव रहेको गुनासो पर्यटकबाट आएको उहाँको भनाइ थियो ।
पर्यटन क्षेत्रका अध्येता डा. गितु गिरीले अरबौँ लगानी भए पनि कनेक्टिभिटी अभावका कारण पर्यटन चलायमान हुन नसकेको बताउनुभयो ।
“लुम्बिनीमा ४२ भन्दा बढी सम्पदा छन् तर ती पर्यटकसमक्ष पुर्याउन सकिएन, बलियो स्टोरी दिन सकेनौँ,” उहाँले भन्नुभयो ।
पर्यटन व्यवसायी सिपी शर्माले पर्यटक टिकाउन नसक्नुमा निजी क्षेत्र पनि जिम्मेवार रहेको उल्लेख गर्नुभयो ।
“भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा नआउनु गम्भीर विषय हो,” उहाँले भन्नुभयो ।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले वन ऐन र पर्यटन ऐन संशोधन नगरेसम्म पर्यटन क्षेत्र चलायमान नहुने दाबी गर्नुभयो ।
“चर्चा धेरै भयो, काम कम भयो,” उहाँको भनाइ थियो ।
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले पर्यटनमैत्री र लगानीमैत्री वातावरणको अभावले पर्यटन क्षेत्र अस्थिर बनेको बताउनुभयो । पत्रकार सुदिप भण्डारीले विमानस्थल सञ्चालनमा सरकार र निजी क्षेत्र दुवै चुकेको टिप्पणी गर्नुभयो ।
पत्रकार शरण कर्मचारीले धार्मिक पर्यटनमा मात्रै सीमित योजना भएकाले मास्टर प्लान आवश्यक रहेको बताउँदै निजी क्षेत्रले पनि पर्यटनमैत्री नीति अनुरूप लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यापक डा. बाबुराम ज्ञवालीले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो भने हिलपार्क परिषदका अध्यक्ष टंकप्रसाद पराजुलीले जितगढी युद्ध संग्रहालय निर्माण भए पनि प्रयोगमा नआएको गुनासो गर्नुभयो ।
पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थी सुदिप पाण्डेले नयाँ पुस्तालाई अपनत्व हुने योजना आवश्यक रहेको बताए । एक्सिस कलेजका अध्यापक आशिष गौतमले पर्यटन अध्ययनपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा टिप्पणी गर्दै पर्यटन अध्येता युवराज कंडेलले नीतिगत कमजोरी, बजेट समस्या र तालिम प्राप्त जनशक्तिको प्रयोग नहुनु मुख्य चुनौती भएको बताउनुभयो ।
“पहिलो प्राथमिकता आन्तरिक पर्यटन हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका विभाग प्रमुख डा. श्रीप्रसाद भट्टराईले नीति निर्माण तहका निकाय यस्ता बहसमा सहभागी हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले लुम्बिनी विकासको बाधक त्यहीँको कोष बनेको टिप्पणी गर्नुभयो ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष तेजकुमार पाठक प्रमुख अतिथि रहनुभएको थियो ।










