गृहपृष्ठ ओमानमा साइबर ठगीमा संलग्न १९ नेपाली डिपोर्ट, ११ नेपाल फर्किए

ओमानमा साइबर ठगीमा संलग्न १९ नेपाली डिपोर्ट, ११ नेपाल फर्किए


आश्विन ३१, २०८२

काठमाडौँ — ओमानले साइबर ठगी गतिविधिमा संलग्न ठहरिएका १९ जना नेपालीलाई डिपोर्ट गरेको छ। तीमध्ये ११ जना बिहीबार नै नेपाल पठाइसकिएका छन् भने बाँकी सात जना सोमबार पठाइँदै छन्। दुई जनाको उडान भने अझै तय हुन बाँकी छ।

रोयल ओमान प्रहरीले गत मार्च १० गते ओमानको सोहर सहरबाट उनीहरूलाई पक्राउ गरेको थियो। स्थानीय अदालतले उनीहरूलाई ६ महिना कैद सजाय र तीन सय ओमानी रियाल जरिवाना तोकेको थियो। दुई जनालाई भने ६ सय रियाल जरिवाना गरिएको हो।

ओमानी प्रहरीका अनुसार, पक्राउ परेकाहरू विभिन्न डिजिटल माध्यम प्रयोग गरी नक्कली रोजगारी, अनलाइन लगानी, र सामाजिक सञ्जालमार्फत ठगी गर्ने सञ्जालसँग जोडिएका थिए। ठगी समूहले नक्कली बैंक वेबसाइट, ‘रोम्यान्स च्याट एप’ र ‘क्रिप्टो ट्रेडिङ प्लेटफर्म’ मार्फत खाडीमा कार्यरत नेपालीसहित अन्य एशियाली नागरिकलाई निशाना बनाउने गरेको थियो।

अनुसन्धानबाट खुल्न आएको छ कि ती नेपालीहरू ओमान पुगेपछि उनीहरूको पासपोर्ट र कागजात खोसिएको थियो। त्यसपछि तिनीहरूलाई अनलाइन ग्राहक सेवा वा लगानी परामर्शदाताको नाममा नक्कली वेबसाइट र च्याट एपमार्फत ठगी गर्ने तालिम दिइन्थ्यो।

मस्कटस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सोसल क्लब (NRNA) ओमानले सजाय पूरा भएपछि उनीहरूलाई स्वदेश फर्काउन सहजीकरण गरेको हो। ती नेपालीहरूलाई राखिएको जेल राजधानी मस्कटबाट करिब ३०० किलोमिटर टाढा सोहरमा रहेको बताइएको छ।

गैरआवासीय नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काले प्रारम्भमा परिवारले “मान्छे हरायो” भन्दै सम्पर्क गरेको जानकारी दिए। “हामीले खोजतलास गर्दा उनीहरू सोहरको जेलमा भेटियौं। उनीहरू दुबईमा भिजिट भिसामा पुगेका रहेछन्,” उनले भने, “दुबईबाट एक चिनियाँ कम्पनीले कामको नाममा ओमान ल्याएको रहेछ। त्यहाँ ठगी गर्ने एउटा नेटवर्किङ कम्पनीमा परेछन्। त्यसैबेला प्रहरीले छापा मार्दा दुई सय ५७ जनासहित २० जना नेपाली पक्राउ परेका थिए।”

सोहरमा कार्यरत एनआरएनका केन्द्रीय सदस्य देवान खड्काले जेलभित्र रहेका नेपाली, दूतावास र परिवारबीच समन्वयका भूमिका निभाएका थिए। “२० जनाको परिवारसँग पूर्ण सम्पर्क विच्छेद भएको थियो। म जेलमा फोन कार्ड पुर्‍याइदिन्थेँ, जसले गर्दा उनीहरूले नियमित रूपमा परिवारसँग कुरा गर्न पाए,” उनले भने, “दूतावास र जेल प्रशासनबीच पनि आवश्यक समन्वय गर्न सहयोग गरें।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु