गृहपृष्ठ ११ देशका लागि नियुक्त राजदूत फिर्ता बोलाउने सरकारकाे तयारी, ५ जनाको विषयमा अझै छलफल

११ देशका लागि नियुक्त राजदूत फिर्ता बोलाउने सरकारकाे तयारी, ५ जनाको विषयमा अझै छलफल


  • असोज ३०, २०८२

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा विदेशी नियोगमा पठाइएका १६ मध्ये ११ जना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय गरी ती राजदूतलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाउने तयारी गरेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले जनाएको छ।

“अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक सिफारिसमा पठाएका १६ मध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरिएको हो,” मन्त्रालय स्रोतले भन्यो, “मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय गर्छ।”

स्रोतका अनुसार बाँकी पाँचजनाको विषयमा भने अझै छलफल जारी छ। तीमध्ये केहीको कार्यशैली मूल्याङ्कन गरेरमात्र निर्णय लिने सरकारको तयारी छ।

“ती पाँच राजदूतबारे तत्काल निर्णय नहुने देखिएको छ,” स्रोतले स्पष्ट पारे, “तर तिनको व्यवहार र कामकारबाही हेरेर पछि निर्णय गर्न सकिनेछ।”

हाल विश्वभरका ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ नियोगमा नेपाली राजदूत कार्यरत छन्। तीमध्ये १८ करियर डिप्लोम्याट र १६ राजनीतिक नियुक्ति हुन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार करियर डिप्लोम्याटहरूलाई फिर्ता बोलाइँदैन। “राजनीतिक नियुक्तिका ११ राजदूतलाई सकेसम्म छिट्टै स्वदेश बोलाउने निर्णय हुँदैछ,” उनले भने।

सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा—

  • चीनका लागि कृष्णप्रसाद ओली,

  • जर्मनीका लागि शाहिल रुपाखेती,

  • भारतका लागि डा. शंकरप्रसाद शर्मा,

  • इजरायलका लागि धनप्रसाद पन्डित,

  • मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना,

  • कतारका लागि रमेशचन्द्र पौडेल,

  • रुसका लागि जंगबहादुर चौहान,

  • साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल,

  • बेलायतका लागि चन्द्रकुमार घिमिरे,

  • अमेरिकाका लागि लोकदर्शन रेग्मी, र

  • स्पेनका लागि शनिल नेपाल रहेका छन्।

त्यस्तै, तत्काल फिर्ता नबोलाइने राजनीतिक नियुक्ति भएका पाँच राजदूतमा—
अष्ट्रेलियाका लागि चित्रलेखा यादव,
डेनमार्कका लागि सुम्निमा तुलाधर,
दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे,
दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, र
श्रीलंकाका लागि पूर्णबहादुर नेपाली रहेका छन्।

यसबाहेक करियर डिप्लोम्याटका रूपमा कार्यरत अन्य १८ राजदूतहरूलाई भने फिर्ता बोलाइने छैन। तीमध्ये बहराइनका तीर्थराज वाग्ले, बंगलादेशका घनश्याम भण्डारी, बेल्जियमकी सेवा लम्साल, ब्राजिलका निर्मलराज काफ्ले, क्यानडाका भरतराज पौड्याल, इजिप्टका सुशिल लम्साल, फ्रान्सका सुधिर भट्टराई, जापानका दुर्गाबहादुर सुवेदी, कुवेतका घनश्याम लम्साल, म्यानमारका हरिषचन्द्र घिमिरे, ओमानका डोरनाथ अर्याल, पाकिस्तानकी रिता धिताल, पोर्चुगलका प्रकाशमणि पौडेल, थाइल्याण्डका धनबहादुर वली, युएईका तेजबहादुर क्षेत्री, र स्थायी नियोगमा—
संयुक्त राष्ट्रसंघ (न्यूयोर्क) का लोकबहादुर थापा,
जेनेभास्थित स्थायी नियोगका रामप्रसाद सुवेदी, र
अष्ट्रियास्थित स्थायी नियोगका भरतकुमार रेग्मी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु