गृहपृष्ठ नेपालमै पहिलो फेसन र मोडलिङ रियालिटी शो सुरु हुँदै

नेपालमै पहिलो फेसन र मोडलिङ रियालिटी शो सुरु हुँदै


काठमाडौं, चैत १० — नेपालमा पहिलो पटक फेसन र मोडलिङमा आधारित टेलिभिजन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ सञ्चालन हुने भएको छ। उक्त शोको निर्णायकको रूपमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता तथा मोडल अनुपविक्रम शाही नियुक्त भएका छन्।

हिमालय टेलिभिजनले केही दिनअघि आयोजना गरेको विशेष कार्यक्रममा यी दुई चर्चित व्यक्तित्वलाई आधिकारिक रूपमा जज (निर्णायक) को रूपमा सार्वजनिक गरिएको हो। टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार शोमा कुल चारजना निर्णायक रहनेछन्, जसमा बाँकी दुई निर्णायकहरू यो साता अन्तिम निर्णय गरी सार्वजनिक गरिने उनले जानकारी दिए।

अस्मी श्रेष्ठ शोमा होस्ट (सञ्चालिका) समेत रहनेछिन्। ‘यस शोमा होस्ट पनि निर्णायककै रूपमा प्रस्तुत हुनेछ,’ कँडेलले बताए। साथै, डिजिटल अडिसन (अनलाइन आवेदन) सुरु भइसकेको छ, जसमा १६ वर्ष नाघेका नेपाली मूलका वा नेपालीभाषी युवायुवतीले एक महिनासम्म आवेदन दिन सक्ने छन्।

शो बैशाख महिनाबाट प्रसारण गर्ने लक्ष्य राखिएको छ। कँडेलले भने, “फेसन, मोडलिङ र स्टाइल युवाहरूको आकर्षणको क्षेत्र हो। नेपालमा पनि फेसन र मनोरञ्जनप्रेमी युवाहरूको ठूलो वर्ग छ। महिला सशक्तीकरण पनि हाम्रो प्रमुख उद्देश्य हो।”

यस शोको निर्देशन ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले गर्नेछन्। कुल २० भागमा निर्माण हुने शोमा १४ भाग वान–टाइम शूटिङ हुनेछ भने बाँकी भागहरूमा दर्शकको मत र जजको निर्णयको आधारमा विजेता छनोट गरिनेछ।

‘नेक्स्ट टप मोडल’को अवधारणा अमेरिका हुँदै सुरु भएको हो, जसको सिर्जना टायरा ब्याङ्क्सले गरेकी थिइन्। अहिले यो शो विभिन्न देशहरूमा फ्रेन्चाइजको रूपमा सञ्चालन भइरहेको छ। भारतमा मलाइका अरोराले भारतीय संस्करणको होस्टिङ गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु