गृहपृष्ठ “कर्फ्यूले दबाइँदैन हाम्रो आवाज : जेनजी आन्दोलनकारीहरूको चेतावनी”

“कर्फ्यूले दबाइँदैन हाम्रो आवाज : जेनजी आन्दोलनकारीहरूको चेतावनी”


भाद्र २३, २०८२

कल्पना घिमिरे

रूपन्देही — जेनजी पुस्ताले सोमबार बिहानदेखि सुरू गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोध आन्दोलनलाई राज्यले दमन गर्ने प्रयास स्वरूप कर्फ्यू आदेश जारी गरेको भन्दै आन्दोलनकारीहरूले आपत्ति जनाएका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा उठान गरिएको आन्दोलनलाई अराजक ठहर्याएर कर्फ्यू लगाउनु नागरिकको संवैधानिक अधिकारमाथि सीधा प्रहार भएको बताएका छन्।

“हामी भ्रष्टाचारविरुद्ध सडकमा आएका हौं, तर राज्यले हाम्रो आवाज सुन्ने सट्टा सैनिक शैलीमा नियन्त्रण गर्न खोज्यो,” एक विद्यार्थी नेताले भने। उनका अनुसार जनआन्दोलनको ऊर्जा कम गर्न प्रहरीले शक्तिप्रयोग गरी युवा पुस्ताको आन्दोलनलाई कमजोर पार्ने प्रयास गरिरहेको छ।

आन्दोलनकारीहरूको भनाइमा, राजनीतिक दलका नेताहरूका घर जलाउने भनेर आरोप लगाइनु झूटो प्रचार मात्र हो। उनीहरूले आफ्नो माग स्पष्ट रूपमा भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सामाजिक सञ्जालमा लगाइएको नियन्त्रण फुकुवा गर्नेतर्फ केन्द्रित भएको बताएका छन्।

बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलगायतका क्षेत्रमा ठूलो संख्यामा युवा सडकमा उत्रिएका थिए। उनीहरूले ‘सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’, ‘हाम्रो अधिकार, हाम्रो आवाज’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

“कर्फ्यू लगाएर हामीलाई डराउन सकिँदैन। हाम्रो आन्दोलन अझै तीव्र बन्छ,” प्रदर्शनमा सहभागी अर्को युवतीले भनिन्।

यसअघि बुटवलमा नेकपा एमालेको प्रदेश कार्यालय र भैरहवामा नेपाली कांग्रेसको कार्यालयअगाडि युवाहरूले घेराउ गरेका थिए। उनीहरूको भनाइमा यो कदम दलहरूको मौनता र सत्ता संरक्षणविरुद्ध प्रतीकात्मक दबाब थियो।

जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।कर्फ्यू जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु