गृहपृष्ठ उत्तराखण्डमा ‘क्लाउड बर्स्ट’ काे विपत्ति: ४ जनाकाे मृत्यु, ५० भन्दा बढी बेपत्ता
उत्तराखण्डमा ‘क्लाउड बर्स्ट’ काे विपत्ति: ४ जनाकाे मृत्यु, ५० भन्दा बढी बेपत्ता
नयाँदिल्ली — भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लामा मंगलबार राति भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्।
स्थानीय प्रशासनका अनुसार अचानक परेको भारी वर्षाले साना खोलानाला उर्लिएर पहाडी क्षेत्रमा ठूला पहिरो खसेका हुन्। बाढीले धराली बजारसहितका बस्तीहरूमा ठूलो विनाश पुर्याएको छ। धेरै घर बगाइसकेका छन् र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
टेलिभिजन फुटेजमा देखिएअनुसार हिलो र पानीको तीव्र बहावले बस्तीहरू तहसनहस बनाएको छ। घटनापछि राष्ट्रिय तथा राज्यस्तरीय उद्धार टोलीहरू खटिइसकेका छन् र खोज तथा उद्धार कार्य तीव्र गतिमा जारी छ।
प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक राहत सामग्रीको वितरण भइरहेको छ। साथै, जोखिममा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य पनि जारी छ।
प्रशासनले आगामी दिनहरूमा अझ भारी वर्षा हुन सक्ने पूर्वानुमान दिँदै जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।









