गृहपृष्ठ इजरायल-इरान तनावमा पूर्वयुवराज रेजाको प्रवेश : इजरायली समर्थनमा सत्ता परिवर्तनको आह्वान
इजरायल-इरान तनावमा पूर्वयुवराज रेजाको प्रवेश : इजरायली समर्थनमा सत्ता परिवर्तनको आह्वान
काठमाडौं, असार ६ — पश्चिम एसियामा इजरायल र इरानबीच चुलिएको तनाव अब शाब्दिक सीमा नाघ्दै प्रत्यक्ष हवाई हमलासम्म पुगेको छ। इरानी भूमिमा इजरायली आक्रमण र इजरायली भूमिमा इरानको जवाफी प्रहारका बीच अब एउटा नयाँ पात्रको हस्तक्षेप देखिएको छ— इस्लामिक क्रान्तिपछि सत्ताच्युत राजाका जेठा छोरा तथा पूर्वयुवराज रेजा पल्लबी
सन १९७९ को इस्लामिक क्रान्तिका कारण देश निकाला गरिएका रेजा पल्लबी अहिले इजरायलको समर्थनमा खुलेर इरानमा सत्ता परिवर्तनको आह्वान गरिरहेका छन्। हालै सार्वजनिक एक भिडियो सन्देशमा उनले भनेका छन्, “इस्लामिक गणतन्त्रको अन्त्य हुने बेला आएको छ। अब इरानलाई फिर्ता लिनुपर्छ।” उनले इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनईलाई ‘डरपोक’ भन्दै कटाक्ष गरेका छन्।
रेजाको यस्तो अभिव्यक्तिले पश्चिमी शक्तिहरू—विशेषतः इजरायल र अमेरिका—द्वारा इरानी जनआन्दोलनको आडमा इस्लामिक सत्ता फेर्ने योजनामा भूमिका निभाउने संकेत गरेको छ। रेजा भन्छन्, “जनताको आवाज र सडक आन्दोलन नै इस्लामिक अधिनायकवादको अन्त्यको चाबी हो।”
इजरायल–राजतन्त्र सम्बन्धको ऐतिहासिक पृष्ठभूमि
इरान र इजरायलबीचको सम्बन्ध कुनै नयाँ होइन। इजरायल स्थापनाको प्रारम्भिक दशकहरूमा इरानले इजरायललाई औपचारिक मान्यता दिएको दोस्रो मुस्लिम देशका रूपमा राजनैतिक र व्यापारिक सम्बन्ध विस्तार गरेको थियो। इजरायली तेलको ठूलो हिस्सा इरानबाट जाँथ्यो भने, इरानले इजरायलबाट हतियार र प्रविधि ल्याउँथ्यो। इरानी राजतन्त्रका समयमा यो सम्बन्ध घनिष्ठ थियो।
तर, १९७९ मा आएर यो सम्बन्ध पूर्णतः उल्टियो। इस्लामिक गणतन्त्र स्थापनासँगै इजरायल इरानको प्रमुख दुश्मन बन्यो। यता, इजरायल र अमेरिका इरानमा इस्लामिक सत्ता उल्ट्याउन निरन्तर प्रयासरत छन्।
रेजाको आलोचना र समर्थन
रेजा पल्लबीलाई धेरैले ‘इजरायली एजेन्डा बोकेको पपेट’ भन्दै आलोचना गर्छन्। उनीप्रति इरानी भित्र र बाहिर दुवै स्थानमा मिश्रित प्रतिक्रिया छन्। केहीले उनलाई लोकतान्त्रिक इरानको आशा मानेका छन् भने केहीले सत्तालोलुप र विदेशी शक्तिहरूको दलालको रूपमा हेर्छन्।
इतिहासले पनि यिनका पिताको छविमा मिश्रित दृष्टिकोण राखेको छ। उनका पिता मोहम्मद रेजा पल्लबीलाई भ्रष्ट, विलासी र निरंकुश राजा ठहर गरिएको थियो। तर, उनी पालामा इरान पश्चिमी शक्तिहरूसँग नजिक थियो, धार्मिक कट्टरता भन्दा आधुनिकतामा केन्द्रित थियो भन्ने दावी पनि पाइन्छ।








