गृहपृष्ठ माओवादीसँगको प्रस्तावित एकता : नेसपाभित्र दुई धारको गहिरिंदो ध्रुवीकरण
माओवादीसँगको प्रस्तावित एकता : नेसपाभित्र दुई धारको गहिरिंदो ध्रुवीकरण
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ।
पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन्। तर पार्टी अध्यक्ष महिन्द्रराय यादव भने यथास्थितिमा एकताप्रति अनिच्छुक देखिन्छन्।
माओवादीसँगको एकता प्रक्रियालाई अन्तिम रूप दिन श्रेष्ठ समूहले ११ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ। त्यसलाई खण्डन गर्दै अध्यक्ष यादवले उक्त बैठक पार्टीको आधिकारिक नभएको स्पष्ट पारेका छन्।
यादवनिकट महासचिव रमेशप्रसाद यादवले बिहीबार विज्ञप्ति जारी गर्दै ११ जेठमा केन्द्रीय समितिको आधिकारिक बैठक नरहेको जनाएका छन्। विज्ञप्तिमा उनले नेकपा माओवादी केन्द्रसँग रुपान्तरणसहितको एकता गर्न नेपाल समाजवादी पार्टी दृढ रहेको बताएका छन्।
‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा, उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच रुपान्तरणसहित एकता गर्न पार्टी दृढ रहेको जानकारी गराउँदछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैबीच, बुधबार रुकुम पूर्व पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेसपासँग १२ गते एकता हुने दाबी गरेका छन्।
‘विप्लवसँग पनि कुरा भैराखेको छ, हामी मिल्नुपर्छ भनेर। बाबुरामसँग भएका शिक्षकहरू त शतप्रतिशत हामीतिर आएका छन्,’ उनले भने, ‘अहिले बाबुरामसँग रहेका मध्ये आधाभन्दा बढी (नेपाल समाजवादी पार्टी) अब सायद १२ गते एकता हुन्छ। हामी १० गते काठमाडौं पुग्छौं, १२ गते एकता हुँदैछ।’










