गृहपृष्ठ भारतलाई विद्युत निर्यात गर्न थालेको प्राधिकरण, दैनिक १५० मेगावाटभन्दा बढी निर्यात
भारतलाई विद्युत निर्यात गर्न थालेको प्राधिकरण, दैनिक १५० मेगावाटभन्दा बढी निर्यात
काठमाडौं, ७ जेठ – नेपाल विद्युत प्राधिकरणले भारततर्फ विद्युत निर्यात सुरु गरेको छ। शनिबार रातिबाट सुरु भएको निर्यातमा प्रारम्भिक दिनमै २०० मेगावाट विद्युत पठाइएको थियो।
प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारका अनुसार त्यसयता दैनिक १५० मेगावाटभन्दा बढी विद्युत भारत निर्यात भइरहेको छ। हालैको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेसँगै जलविद्युत उत्पादनमा उल्लेखनीय वृद्धि भएपछि विद्युत निर्यात सम्भव भएको हो।
“नदीमा पानीको बहाव बढेसँगै विद्युत उत्पादन लगभग पिक लोड माग बराबर पुगिरहेको छ,” प्रवक्ता सिल्पकारले जानकारी दिए। हाल पिक समयमा विद्युतको माग १,९५० मेगावाट रहेको छ भने देशका आयोजनाबाट १,९२५ मेगावाट हाराहारीमा उत्पादन भइरहेको छ।
यद्यपि, पिक डिमान्ड भएका केहि समय र दिनहरूमा भने अझै पनि भारतबाट आयात भइरहेको छ। मंगलबार मात्रै २७८ मेगावाट विद्युत भारतबाट आयात भएको प्राधिकरणले जनाएको छ।
यस वर्षको सुख्खा याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत आयात गरेको थियो। तर बर्खा याम सुरु भएसँगै नेपालले फेरि निर्यात गर्ने अवस्था सिर्जना भएको हो।
गत वर्ष नेपालले आयातभन्दा बढी विद्युत निर्यात गर्दै खुद विद्युत निर्यातक राष्ट्रको पहिचान बनाएको थियो।
यसो रह्यो दैनिक निर्यातको विवरण:
-
शनिबार – २०० मेगावाट
-
आइतबार – १७५ मेगावाट
-
सोमबार – १७० मेगावाट
-
मंगलबार – १५० मेगावाट










