गृहपृष्ठ यस वर्ष मनसुन अवधिमा वर्षा र तापक्रम औसतभन्दा बढी हुने विभागको प्रक्षेपण

यस वर्ष मनसुन अवधिमा वर्षा र तापक्रम औसतभन्दा बढी हुने विभागको प्रक्षेपण


७ जेठ, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरेको छ। बुधबार विभागले ऋतुगत मनसुन पूर्वानुमान सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्षको वर्षा वितरण स्थानअनुसार फरक हुने अनुमान गरिएको छ। पोखरेलले केही स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, कतै ४५ देखि ५५ प्रतिशत, र कतै ३५ देखि ४५ प्रतिशत रहेको बताइन्।

उनले प्रि–मनसुन सिजनमै औसतभन्दा बढी वर्षा भएकोले माटोको चिस्यान बढेको र यसले गर्दा मनसुनको सुरुमा हुने वर्षाले पनि क्षति पुर्‍याउने सम्भावना रहेको जनाइन्।

विभागका अनुसार यस वर्ष प्रि–मनसुन अवधिमा नै औसतभन्दा बढी वर्षा भइसकेको छ। यसले भद्र नदी प्रणाली, पहाडी क्षेत्रहरू र तराईका केही भूभागमा बाढी र डुबानको जोखिम बढाएको बताइएको छ।

अघिल्लो महिना भारतको पुणेमा आयोजित दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकमा नेपालसहित दक्षिण एसियाका नौ राष्ट्रहरूका लागि मनसुनको सम्भावित अवस्था सार्वजनिक गरिएको थियो। त्यस क्षेत्रीय पूर्वानुमानका आधारमा नै नेपालका लागि विभागले आन्तरिक प्रक्षेपण तय गरेको हो।

यस वर्ष नेपालको पूर्वी क्षेत्रमा औसत, मध्य क्षेत्रमा औसतभन्दा केही बढी, र पश्चिमी क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। विभागले वर्षा प्रक्षेपणमा नीलो र गाढा नीलो रंगमार्फत ती क्षेत्रहरूलाई संकेत गरेको छ।

सामान्यतया नेपालमा जुन १३ बाट मनसुन सुरु भई अक्टोबर २ मा समाप्त हुने गर्छ। यस अवधिमा वार्षिक कुल वर्षाको झण्डै ८० प्रतिशत हिस्सा पर्ने गर्छ।

विशेषज्ञहरूका अनुसार राम्रो वर्षाले खेतीपाती राम्रो हुने आशा गरिए पनि पहिरो, बाढी र डुबानजस्ता प्राकृतिक प्रकोपको सम्भावना पनि बढ्ने भएकाले सतर्क रहन आवश्यक छ। साथै, वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषि प्रणाली, बाली चक्र, र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ।

यस्ता जोखिम न्यूनीकरणका लागि बाढी पूर्वानुमान प्रणाली सुदृढ पार्ने, विपद् व्यवस्थापन योजना बनाउने, मौसमअनुकूल बिउ र प्रविधिको प्रयोग गर्ने, बालीको विविधीकरण गर्ने, र उद्धार तथा राहतका तयारीमा जुट्न विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु