गृहपृष्ठ अख्तियारले पूर्वमन्त्री यादवसहित ८ जनाविरुद्ध ३० करोड अनुदान प्रकरणमा भ्रष्टाचार मुद्दा दायर
अख्तियारले पूर्वमन्त्री यादवसहित ८ जनाविरुद्ध ३० करोड अनुदान प्रकरणमा भ्रष्टाचार मुद्दा दायर
जेठ ४ गते
काठमाडौं, —मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय कुमार यादव, सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा लगायत आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूविरुद्ध प्रदेश सरकारमार्फत ३० करोड रुपैयाँ बराबरको गैरकानुनी अनुदान दिने र लिने आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
मुद्दामा संलग्न अन्य व्यक्तिहरूमा बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, पूर्वप्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, पूर्वकानुन अधिकृत गोकुल भुजेल, इन्जिनियर निरञ्जन लामिछाने, सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेल छन्।
मन्त्रीदेखि इन्जिनियरसम्मको संलग्नता
अख्तियारका अनुसार पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै, मेयर र उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ माग गरिएको छ।
कानुन अधिकृत गोकुल भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५, इन्जिनियर निरञ्जन लामिछानेसँग १० करोड १४ लाख ९५ हजार, सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२ र लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रुपैयाँ बिगो माग दाबी गरिएको छ।
यसअघि भरत ताल भ्रष्टाचार प्रकरणमा पनि मुद्दा दायर भइसकेका यीमध्ये अधिकांश कर्मचारी अहिले निलम्बनमा परेका छन्।
वन क्षेत्र अतिक्रमण र अनियमित उत्खनन
सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा पर्ने परियोजनाका नाममा संघ तथा प्रदेश सरकारको करोडौं लगानीमा बनाइएको संरचना गैरकानुनी ढंगले निर्माण गरिएको पाइएको छ।
उक्त परियोजनाअन्तर्गत वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा र माटो उत्खनन गरिएको र सो स्थानमा माछापोखरी बनाउने नाममा व्यापक अनियमितता भएको अख्तियारको आरोप छ।










