गृहपृष्ठ शिक्षा ऐनको मागमा राजधानी ठप्प : निर्णायक आन्दोलनतर्फ शिक्षक महासंघ
शिक्षा ऐनको मागमा राजधानी ठप्प : निर्णायक आन्दोलनतर्फ शिक्षक महासंघ
काठमाडौँ, वैशाख ४ — शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्ने माग गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप तीव्र बनाएका छन्। २० चैतदेखि सुरु भएको आन्दोलन अब निर्णायक मोडमा पुगेको भन्दै बिहीबार देशभरबाट आएका शिक्षकहरूको सहभागिता बाक्लिएको छ।
माइतीघर–बबरमहल सडकखण्डमा बिहानैदेखि सडक अवरुद्ध गरिँदा सार्वजनिक यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। आन्दोलनकारीहरूले पूरै सडक अतिक्रमण गरेर प्रदर्शन गरिरहेकाले यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन शीघ्र पारित गरियोस् भन्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा हालसम्म सरकारको प्रस्तावलाई आन्दोलनकारीहरूले अस्वीकार गरेका छन्। शिक्षा मन्त्रालयद्वारा प्रस्तुत ७ बुँदे प्रस्तावलाई अपूरो र अस्पष्ट भन्दै महासंघले असहमति जनाएको हो।
सरकारबाट पटकपटक आश्वासन मात्र पाएको अनुभव सुनाउँदै महासंघले शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ। आन्दोलनलाई निर्णायक बनाउने उद्देश्यले अझ धेरै शिक्षक र कर्मचारीलाई काठमाडौंमा परिचालन गर्न महासंघले आह्वान गरिसकेको छ।
यही आन्दोलनका कारण देशभरका सरकारी विद्यालयहरूमा पठनपाठन ठप्प भएको छ। नयाँ भर्ना अभियान, वार्षिक परीक्षा परिणाम प्रकाशन, र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता सार्वजनिक गर्ने तयारीमा रहेको एसईई नतिजा पनि ढिलो हुने निश्चितजस्तै देखिएको छ, किनकि उत्तरपुस्तिका परक्षण प्रक्रिया अझै प्रारम्भ भएको छैन।








