गृहपृष्ठ सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत
सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत
पुस २२, २०८२
काठमाडौँ — सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन (म्यादी) प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गर्दै भर्ना प्रक्रिया अघि बढाएको हो ।
गृह मन्त्रालयका अनुसार २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ ।
स्वीकृत मापदण्डअनुसार निर्वाचन प्रहरीलाई १० दिन तालिम दिइनेछ भने ३० दिन कार्यस्थलमा खटाइनेछ । भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवा सुविधा उपलब्ध गराइनेछ । रासन सुविधा भने सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिनेछ ।
तलब, रासन र पोसाकबापतको सम्पूर्ण रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत भुक्तानी गरिने गृह मन्त्रालयले जनाएको छ । साथै, म्यादी छनोटपछि आउने र जाने तयारी खर्चबापत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्चबापत एकमुष्ट १ हजार २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।
पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेश क्षेत्रअनुसार फरक–फरक हुने उल्लेख छ । नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि नीलो डांग्री कपडा र टोपी अनिवार्य गरिएको छ । सशस्त्र प्रहरी बल मातहत खटिनेका लागि भने सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी व्यवस्था गरिनेछ ।
निर्वाचनका क्रममा नियमित सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पनि निर्वाचन प्रहरीसरह १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइने मापदण्डमा उल्लेख छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति गठन गरिनेछ । इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको हकमा जिल्लास्थित गण वा गुल्ममा निवेदन दिन सक्नेछन् ।
१८ वर्षदेखि ५४ वर्ष उमेर समूहका नेपाली नागरिकले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन सक्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार स्वीकृत मापदण्ड दुवै प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको छ










