गृहपृष्ठ केपी शर्मा ओलीको स्थानहद फुकुवा, आयोगले प्रतिबन्ध हटायो
केपी शर्मा ओलीको स्थानहद फुकुवा, आयोगले प्रतिबन्ध हटायो
पुस २१, २०८२
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद जाँचबुझ आयोगले फुकुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी छानबिनका क्रममा आयोगले ओलीलाई विदेश भ्रमण तथा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थानहद लगाएको थियो।
आइतबार ओलीको लिखित बयान लिइएपछि सोमबार (पुस २१) उक्त प्रतिबन्ध फुकुवा गरिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। आयोगका अनुसार प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आवश्यक सोधपुछ र बुझ्ने कार्य सम्पन्न भइसकेकाले स्थानहदको औचित्य समाप्त भएको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका नेतृत्वकर्ताहरूको पनि बयान लिइसकेको छ र अब प्रतिवेदन लेखनको चरणमा प्रवेश गरेको जनाएको छ।











