गृहपृष्ठ ७० औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी सम्मानित, डीएसपी धर्मराज भण्डारी ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’
७० औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी सम्मानित, डीएसपी धर्मराज भण्डारी ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’
आश्विन ३१, २०८२
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७० औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीएसपी धर्मराज भण्डारीलाई यस वर्षको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ घोषित गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरे। अनुसन्धानमा अब्बल मानिने भण्डारी पछिल्ला वर्षहरूमा ठूला अपराध अनुसन्धानमा सक्रिय रहेका छन्।
त्यसैगरी, ‘पूर्ण शान्ति पुरस्कार’ जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टलाई प्रदान गरिएको छ।
प्रहरी वृत्त कालिमाटीका डीएसपी मधुकुमार थापालाई ‘उत्कृष्ट कार्य पुरस्कार’ प्रदान गरिएको छ। भदौ २४ गते उच्छृङ्खल समूहले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा आक्रमण प्रयास गर्दा थापाको नेतृत्वमा रहेको टोलीले जवाफी कारबाही गर्दै परिसर भवन क्षति हुनबाट जोगाएको थियो। उनका नेतृत्वमा १२० जना प्रहरी परिचालित थिए।
यसैगरी, डिल्लीबजार कारागारमा कार्यरत इन्स्पेक्टर दुर्गा राई, प्रहरी अस्पताल महाराजगन्जका एसएसपी डा. आशिष दत्त, अपराध अनुसन्धान विभागका एसपी वासुदेव पाठक, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत, र उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर अच्युत गिरी लगायतलाई पनि प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।










