गृहपृष्ठ सुरेश रजक हत्या प्रकरण : पत्रकार महासंघले स्वतन्त्र छानबिन समिति गठनको माग गर्‍यो

सुरेश रजक हत्या प्रकरण : पत्रकार महासंघले स्वतन्त्र छानबिन समिति गठनको माग गर्‍यो


२o८२ जेठ ५ सोमबा

काठमाडौँ     – नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय मृत्युका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै छानबिन समिति गठनको माग राखेको हो। सो अवसरमा महासंघले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारमाथि भएको आक्रमण र पत्रकार रजकको मृत्युबारे गठन गरिएको अध्ययन समितिको प्रतिवेदन पनि गृहमन्त्रीलाई बुझाएको थियो।

महासंघले रजकलाई आन्दोलनकारी नभई कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारका रूपमा वर्णन गर्दै, उनी शहीद घोषणा हुनुपर्ने माग राखेको छ। साथै, मृतकको परिवारलाई सम्मानजनक राहत र सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

“पत्रकार रजक आन्दोलनमा संलग्न थिएनन्, उनी काममा खटिएका थिए। कामकै क्रममा ज्यान गुमाएकाले उनीप्रति सरकारले विशेष व्यवहार गर्नुपर्छ,” प्रतिवेदनमा भनिएको छ।

महासंघले त्यसैगरी तीनकुने प्रदर्शनका क्रममा सञ्चारगृहमा भएको तोडफोड र क्षतिको उचित क्षतिपूर्ति दिन, प्रेस स्वतन्त्रताको संरक्षण गर्न, र पत्रकारलाई भयमुक्त वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।

प्रेस स्वतन्त्रतामाथि बढ्दो चुनौती, श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक, बीमा, सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा महासंघले नीतिगत सुधारका लागि वरिष्ठ पत्रकार र विज्ञहरूको सुझाव समिति गठन गर्नसमेत आग्रह गरेको छ।

महासंघको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले घटनाको गम्भीरता बुझेको जनाउँदै दोषीलाई फौजदारी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। साथै, महासंघका माग र सुझावको गम्भीर अध्ययन गरी आवश्यक कार्यान्वयनमा सरकार तयार रहेको उनले स्पष्ट पारे।

चैत १५ को घटनापछि महासंघले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको थियो, जसमा महासंघका सचिवहरू प्रकाश धौलाकोटी, रमेश खतिवडा, सोनी शर्मा, सविन प्रियासन, वैकुण्ठ पराजुली र अशोक तिवारी सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु