गृहपृष्ठ लुम्बिनीमा सबैभन्दा कम बेरुजु देखाउने पाणिनि गाउँपालिका, देशभर छैटौँ स्थानमा

लुम्बिनीमा सबैभन्दा कम बेरुजु देखाउने पाणिनि गाउँपालिका, देशभर छैटौँ स्थानमा


अर्घाखाँची, ०२ जेठ ।

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित पाणिनि गाउँपालिका प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तह बनेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२औँ वार्षिक प्रतिवेदनअनुसार पाणिनि गाउँपालिकाको लेखा परीक्षणमा जम्मा ०.११ प्रतिशत अर्थात् १५ लाख ३५ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो।

गत आर्थिक वर्षमा पालिकाले १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको खर्चमा यति कम बेरुजु देखिनु प्रशंसनीय उपलब्धि हो। यसअघि आर्थिक वर्ष २०७९/८० मा पाणिनिले १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा ०.६१ प्रतिशत बेरुजु देखिएको थियो।

यसप्रकारको सुधारसहित पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु भएको स्थानीय तह बन्न सफल भएको छ। महालेखा प्रतिवेदनका आधारमा यो पालिका देशभरकै स्थानीय तहहरूमध्ये छैटौँ स्थानमा परेको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए।

“कामहरू पारदर्शी ढंगले अगाडि बढाइएको छ,” प्रशासकीय अधिकृत न्यौपानेले भने, “कर्मचारी, जनप्रतिनिधि, सरोकारवालाहरू तथा नागरिक समाजको सचेत सहभागिता र कानुनको पालना नै कम बेरुजुमा सहायक बनेको हो। खरिद प्रक्रियामा प्रतिस्पर्धात्मक र पारदर्शी विधि अपनाइएको छ र यस अभ्यासलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ।”

न्यौपानेका अनुसार, उपभोक्ताको लागत सहभागिता नहुने ठाउँमा टेन्डरमार्फत काम अगाडि बढाइएको छ। कानुनको पालना गर्दै आर्थिक उत्तरदायित्व पूरा गरिएकाले कर्मचारी खर्चतर्फ बेरुजु देखिएको छैन।

पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार, गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ‘पाणिनि र दुर्वासा ऋषिको पहिचान, समृद्धि पाणिनि निर्माण हाम्रो अभियान’ भन्ने दीर्घकालीन दृष्टिकोणसहित कार्य अगाडि बढाइरहेको छ।

वडा नं. ६ का अध्यक्ष कृष्णप्रसाद पौडेलले पाणिनिबाट विनियोजित रकमको कार्यान्वयनमा जनप्रतिनिधिहरू एकजुट भएर काम गरिरहेको बताए। “आगामी वर्ष शून्य बेरुजु ल्याउने लक्ष्यसहित सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग मिलेर काम गर्नेछौँ,” उनले भने।

राज्य पुनःसंरचना र संघीयताको कार्यान्वयनसँगै स्थानीय तहमा अधिकार विस्तार भएको सन्दर्भमा पाणिनिले योजनाहरू कानुनी मापदण्डअनुसार पारदर्शी तरिकाले कार्यान्वयन गर्दै आर्थिक, सामाजिक र पूर्वाधार विकासमा तीव्र गति लिएको छ।

प्रदेशकै अन्य पालिकाहरूको बेरुजु विवरण हेर्दा, भूमिकास्थान नगरपालिकामा ३१ लाख ११ हजार (०.१९ प्रतिशत), छत्रदेव गाउँपालिकामा ५१ लाख ४५ हजार (०.३७ प्रतिशत), मालारानी गाउँपालिकामा १ करोड ७ लाख ९६ हजार (०.७१ प्रतिशत), सन्धिखर्क नगरपालिकामा १ करोड ९२ लाख ७९ हजार (०.९१ प्रतिशत), र शितगंगा नगरपालिकामा १ करोड २ लाख ५७ हजार रुपैयाँ (०.५३ प्रतिशत) बेरुजु देखिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु