गृहपृष्ठ १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता

१ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता


 

भदाै ३१,२०८३

बुटवल टाइम्स

काठमाडौँ । सरकारले १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिर विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिँदै दर्ता खुला गरेको हो।

विभागका अनुसार काठमाडौं उपत्यका बाहिर सार्वजनिक सवारीसाधनको दर्ता गर्न सकिनेछ। तर काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र दर्ता खुला गरिएको छ।

विभागले सोहीअनुसार सवारीसाधन दर्ता गर्न सबै प्रदेश सरकारलाई जानकारी गराएको छ।

सरकारले गत ७ जेठदेखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। दर्ता रोक्नुको कारण र पुनः खुला गर्नुको आधारबारे विभागका अधिकारीहरूले स्पष्ट जानकारी दिएका छैनन्।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर उपत्यका बाहिर सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको हो।

यसअघि विभागले मालवाहक सवारीसाधनको दर्ता भने १८ साउनदेखि नै खुला गरिसकेको थियो। त्यसअघि ८ असारसम्म एलसी खोलिसकेका तथा नेपाल आइसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु