गृहपृष्ठ प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच शिष्टाचार भेट

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच शिष्टाचार भेट


 

भदौ ३१, २०८३

बुटवल टाइम्स

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा विपद्बाट हुने क्षति सम्बोधनका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका छन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटमा शाहले नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावना र त्यसको विकासबाट नेपाल तथा अमेरिकाले पारस्परिक लाभ लिन सक्ने विषयमा चर्चा गरेका थिए। उनले नेपालमा अमेरिकी लगानी बढाउन अमेरिकी सरकार तथा लगानीकर्तालाई प्रोत्साहन गर्न कार्यवाहक राजदूत बोल्डिनमार्फत आग्रहसमेत गरेका थिए।

भोटेकोशी बाढीपछि उत्पन्न कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले धन्यवाद दिएका थिए। बाढीका कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएकोमा उनले दुःख व्यक्त गरेका थिए।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्।

उनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु