गृहपृष्ठ ‘सामाजिक सञ्जाल रोक्दा परिस्थिति चर्कियो’ — कांग्रेस महामन्त्रीहरूको आत्मालोचना
‘सामाजिक सञ्जाल रोक्दा परिस्थिति चर्कियो’ — कांग्रेस महामन्त्रीहरूको आत्मालोचना
२५ भदौ २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले देशमा नयाँ राजनीतिक संरचना निर्माण गर्दा लामो संवैधानिक रिक्तता र शून्यता नआउने उपाय अपनाउन आग्रह गरेका छन्।
बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन्, “जेन–जी पुस्ताको भावना अनुसार अहिलेको पहललाई निष्कर्षमा पुर्याउँदै गर्दा संविधान बमोजिमको वैधानिक बाटोमार्फत अघि बढ्नैपर्छ। विधिविहीनताले अराजकता थप बढाउँछ, त्यसैले वार्ता प्रक्रियामा राष्ट्रपतिज्यू र जेन–जी पक्षले संवैधानिक उपायलाई प्राथमिकता दिनुपर्छ।”
महामन्त्रीद्वयले संविधान र लोकतान्त्रिक बाटोबाट समाधान खोजी बेथितिको अन्त्यको मार्गचित्र तय गर्नुपर्नेमा जोड दिँदै त्यसमा कांग्रेसको समर्थन रहने स्पष्ट पारे।
उनले थपे, “आमनागरिकको प्रतिनिधित्व, न्याय र समावेशिताका पक्षमा भएका उपलब्धि उल्टिनु भनेको आगामी दिनमा फेरि आन्दोलन र विद्रोहको श्रृंखला सुरु हुनु हो। त्यसैले २०७२ को संविधानपछि अघि बढेको लोकतान्त्रिक उपलब्धि उल्टन नदिने हाम्रो अडान हो।”
थापा र शर्माले सत्तामा पुगेका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसक्दा भ्रष्टाचार र बेथिति मौलाएको विषयमा आत्मसमीक्षा गर्ने बताएका छन्। युवापुस्ताको आकांक्षा अनुरूप कांग्रेसलाई जरैदेखि पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
उनले भनेका छन्, “आवेग र उत्तेजना क्षणिक हुन्छन्। अबको कांग्रेस जेन–जी पुस्ताको भावना र अन्य सबै पुस्ताको अपेक्षा गाँस्दै अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि बढ्नेछ।”
सोमबारको प्रदर्शनमा भएको बल प्रयोगप्रति ध्यानाकर्षण गर्दै उनले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोगमार्फत छानबिन आवश्यक भएको बताए। साथै, सामाजिक सञ्जाल खोल्ने र पदत्याग गर्ने माग स्विकार्न ढिलाइ गर्दा परिस्थिति चर्किएको भन्दै प्रधानमन्त्रीको ढिलाइकै कारण मानवीय क्षति भएको उल्लेख गरे।
उनले भने, “शान्तिपूर्ण दबाब जायज थियो। तर सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालतलगायतमा आगजनी गर्नु जेन–जीको माग थिएन। यो विभिन्न स्वार्थ समूहले नियतवश योजनाबद्ध ढंगले गरेको विध्वंस हो।”
कांग्रेस महामन्त्रीद्वयले शान्ति, पुनर्निर्माण र स्थायित्वका लागि सबै पक्ष संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।








