गृहपृष्ठ जेन–जी आन्दोलनपछि सुशीला कार्की अगाडि, चुनावी सरकार नेतृत्व गर्ने घोषणा

जेन–जी आन्दोलनपछि सुशीला कार्की अगाडि, चुनावी सरकार नेतृत्व गर्ने घोषणा


२५ भदौ २०८२

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेन–जी पुस्ताले आफूलाई अत्यधिक विश्वास देखाएकाले चुनावी सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन्। भारतीय समाचार संस्था न्युज–१८ सँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछिको परिस्थितिमा संक्रमणकालीन सरकारको जिम्मेवारी लिन सक्ने संकेत गरेकी हुन्।

‘जेन–जी पुस्ताले मलाई प्रस्ताव गरेको हो। यो उनीहरूको विश्वासको अभिव्यक्ति हो। म छोटो अवधिका लागि सरकार सञ्चालन गरेर निष्पक्ष निर्वाचन गराउन तयार छु,’ कार्कीले भनिन्।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले पीडित परिवारको माग सम्बोधन गर्नु आफ्नो पहिलो दायित्व हुने बताइन्। सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका सरकारी भवनमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै कार्कीले अबको प्राथमिकता शान्ति र स्थायित्व कायम गर्ने हुने उल्लेख गरिन्।

‘सरकारको नेतृत्व पाएपछि पहिलो चरणमा भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनेछु। राजनीतिक समस्या बारम्बार दोहोरिरहेकाले अब जेन–जी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भनिन्।

नेपाल–भारत सम्बन्धबारे प्रश्नमा कार्कीले दुवै देशबीचको सम्बन्ध ऐतिहासिक र गहिरो रहेको बताइन्। ‘भारतसँग हाम्रो धेरै नाता र सद्भाव छ। उनीहरूले हामीलाई माया गर्छन्। सम्बन्ध मजबुत छ। भाँडा नजिक हुँदा कहिलेकाहीँ आवाज आउनु स्वाभाविक हो,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु