२०८२ साउन ७ गते
काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेतामाथि गरिएको कारबाहीका विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। ती नेताहरूले आफूमाथि ‘विधानविपरीत’ कारबाही भएको दाबी गर्दै आयोगमा उजुरी दिएपछि आयोगले राप्रपामा औपचारिक पत्राचार गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय पार्टीभित्रको विवादका क्रममा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती, उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा. धवलशम्शेर राणा र संगठन विभाग सदस्य सचिव धनशुर शाहीलाई विभिन्न पदहरूबाट हटाएका थिए।
उक्त निर्णयविरुद्ध ती पाँच नेताले निर्वाचन आयोगमा लिखित निवेदन दिएका थिए। आयोगकी प्रवक्ता सीता पोखरेलका अनुसार सोही उजुरीका आधारमा आयोगले पार्टीलाई औपचारिक पत्राचार गर्दै स्पष्टिकरण मागेको छ। “पाँचजनाको उजुरी आएको हो, त्यसैले यस विषयमा स्पष्ट जानकारी लिन राप्रपामा पत्राचार गरिएको हो,” उनले भनिन्।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि आयोगको पत्र आएको पुष्टि गरेका छन्। यद्यपि, उनले पत्रको सम्पूर्ण विवरण भने पढ्न बाँकी रहेको जनाएका छन्।
पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा चुलिंदै गएको बेला आयोगको यो पहलले उक्त विवादलाई थप राजनीतिक महत्व दिइसकेको छ। कारबाहीको प्रक्रिया विधिसम्मत थियो वा थिएन भन्ने विषयमा अब निर्वाचन आयोगको निर्णयले दिशा तय गर्नेछ।










