गृहपृष्ठ भैरहवाका नापी अधिकृत यादवविरुद्ध अख्तियारको मुद्दा
भैरहवाका नापी अधिकृत यादवविरुद्ध अख्तियारको मुद्दा
१३ भदौ २०८२
,काठमाडौँ । रुपन्देहीस्थित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका छन् ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार, यादवले विभागीय प्रमुख तथा राजनीतिक दलका नेताहरूमार्फत प्रभाव प्रयोग गरी वर्षौंदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । विदेश अध्ययनका लागि गएका कर्मचारीहरूको दरबन्दी कायम राख्दै उनले सरकारी सार्वजनिक जग्गा साबिक/प्लट मिलानको नाममा व्यक्तिको नाउँमा दर्ता गरी करोडौँको आर्थिक चलखेल गरेको ठहर अख्तियारको छ ।
अख्तियारका अनुसार २०५३ असार १३ देखि २०८१ असार १६ सम्म यादव र उनका परिवारको सम्पत्ति विवरण परीक्षण गर्दा तलव–भत्तासहित उनको कुल वैध आय ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ मात्र देखिएको छ । तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर, सवारीसाधन, व्यवसायिक लगानीलगायतका शीर्षकमा यादवले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ खर्च गरेको देखिएको छ ।
यो हिसाबअनुसार यादवको आय–व्ययबीच ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँको असमानता देखिएकाले उक्त रकम अवैध स्रोतबाट आर्जन गरिएको ठहर आयोगको छ ।
यादवले आर्जन गरेको अवैध सम्पत्तिमा उनकी श्रीमती गायत्री यादव र छोराहरु सुधान्सु यादव तथा शुभम यादवको नाममा खरिद गरिएका सम्पत्तिहरू पनि समावेश रहेको आयोगले जनाएको छ । त्यसैले अख्तियारले तीनै जनालाई समेत प्रतिवादी बनाई सम्पत्ति जफतको दाबी गर्दै मुद्दा दायर गरेको हो ।









