गृहपृष्ठ बैठकमा अचानक ढलेका एमाले केन्द्रीय सदस्य थापाको निधन
बैठकमा अचानक ढलेका एमाले केन्द्रीय सदस्य थापाको निधन
२८ फागुन २०८२
बुटवल टाइम्स
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा बैठकमा मन्तव्य दिएर कुर्सीमा बसेलगत्तै हृदयघातका कारण ढलेका छन्। उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
थापा दिउँसो करिब २ बजेर ४१ देखि ४३ मिनेटको बीचमा एक्कासि ढलेका थिए। बैठकमा सहभागी रहेका नेता टिकाराम पङ्गेनीका अनुसार मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा उनी अचानक लडेका थिए।
उनीसँगै रहेका नेताहरूले तत्कालै उनलाई मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए। तर अस्पताल पुर्याउँदासम्म उनको अवस्था गम्भीर भइसकेको बताइएको छ।
मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका थापाको निधन भएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्रीले पुष्टि गरेका छन्। अस्पताल स्रोतले पनि निधन भएको जनाएको छ।”
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा भइरहेको थियो। कास्की क्षेत्र नम्बर १ को समीक्षाका क्रममा थापाले पार्टीले व्यहोरेको क्षतिबारे आफूले जिम्मेवारी लिन तयार रहेको बताएका थिए।
थापाको शव हाल अस्पतालमै राखिएको छ। अस्पताल परिसरमा विभिन्न दलका नेता–कार्यकर्ता, पोखराका उच्चपदस्थ व्यक्तिहरू, उनका समर्थक तथा शुभेच्छुकहरूको भीड लागेको छ।










