गृहपृष्ठ बालेन्द्र शाहले १४ लाख १७ हजार चुनावी खर्च निर्वाचन आयोगमा बुझाए

बालेन्द्र शाहले १४ लाख १७ हजार चुनावी खर्च निर्वाचन आयोगमा बुझाए


२५ फागुन २०८२
बुटवल टाइम्स

झापा — बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरेको चुनावी अभियानको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार खर्च विवरण औपचारिक रूपमा पेस गरेका हुन्।

आयोगमा दर्ता गरिएको विवरणअनुसार शाहले चुनावी अभियानका क्रममा विभिन्न शीर्षकमा गरी १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका शाहका तर्फबाट निर्वाचन प्रतिनिधि नबिन भन्डारीले ०८२ फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण दर्ता गराएका हुन्।

पेस गरिएको विवरणअनुसार दुईवटा सवारीसाधन १५ दिन सञ्चालन गर्दा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको देखिएको छ। त्यस्तै, पाँचपटक गरिएको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

मतदातासँग सम्बन्धित कार्यक्रमतर्फ ५८ जना सहभागी मतदाता प्रशिक्षण कार्यक्रममा खाजाका लागि २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यस्तै, १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो तथा वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।

प्रचारप्रसार सामग्रीतर्फ नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, झन्डा र ब्याच छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यसैगरी, झापा–५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनामा पानी तथा अन्य व्यवस्थापनमा १ लाख २० हजार रुपैयाँ र स्टेशनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको उल्लेख छ। मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च गरिएको विवरणमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु