गृहपृष्ठ पृथ्वीको घुमाइ तीव्र, दिनको लम्बाइ मिलिसेकेन्डले घट्दै
पृथ्वीको घुमाइ तीव्र, दिनको लम्बाइ मिलिसेकेन्डले घट्दै
काठमाडौं, साउन ६ — पृथ्वीको घुमाइ (रोटेसन) गत वर्षको तुलनामा यो गर्मीमा अझ तीव्र भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यसले गर्दा केही दिनहरू सामान्य २४ घण्टाभन्दा मिलिसेकेन्डले छोटा भएका छन्। इन्टरनेसनल अर्थ रोटेसन एन्ड रिफरेन्स सिस्टम्स सर्भिस (IERS) र अमेरिकी नौसेनाको वेधशाला यूएस नेभल अब्जरभेटरीले सार्वजनिक गरेको तथ्याङ्कले यो चाखलाग्दो तथ्य उजागर गरेको हो।
गत जुलाई १० मा अहिलेसम्मकै सबैभन्दा छोटो दिन मापन गरिएको थियो। त्यो दिन पृथ्वीले एक पूर्ण घुमाइ २४ घण्टाभन्दा १.३६ मिलिसेकेन्ड छिटो सम्पन्न गरेको थियो। आगामी जुलाई २२ र अगस्ट ५ मा पनि क्रमशः १.३४ र १.२५ मिलिसेकेन्ड छोटा दिन हुने प्रक्षेपण गरिएको छ।
किन घट्दैछ दिनको लम्बाइ?
सामान्य रूपमा एक दिनको अवधि ८६,४०० सेकेन्ड (२४ घण्टा) मानिन्छ, जुन पृथ्वीले आफैंको अक्षमा एक फन्को लगाउन लागेको समय हो। तर पृथ्वीको गति स्थिर छैन। यसमा चन्द्रमाको गुरुत्वाकर्षण, मौसमी प्रभाव, पृथ्वीको तरल केन्द्रको गति, समुद्री प्रवाह र भूकम्पलगायत विविध कारणले सूक्ष्म अनियमितता आउँछ।
प्रभाव कति गम्भीर?
सामान्य जनजीवनमा यस्तो सानो समय फरकको प्रत्यक्ष प्रभाव नपरे पनि प्रविधि, संचार र अन्तरिक्ष अनुसन्धानमा यसको प्रभाव गम्भीर हुन सक्छ। कम्प्युटर प्रणाली, सेटेलाइट सञ्चार, जीपीएस र नेटवर्क सिङ्क्रोनाइजेसनजस्ता प्रणालीहरू अत्यधिक सूक्ष्म समय गणनामा निर्भर हुन्छन्।
परमाणु घडीले कसरी नाप्छ समय?
सन् १९५५ यता विश्वभरका वैज्ञानिकहरूले समयको मापनका लागि एटोमिक क्लक (परमाणु घडी) प्रयोग गर्दै आएका छन्। यो घडीले निर्वात कक्षमा राखिएका परमाणुहरूको कम्पन आधारमा समय गणना गर्छ। हाल करिब ४५० वटा एटोमिक क्लकहरूको औसतका आधारमा यूटीसी (Coordinated Universal Time) निर्धारण हुन्छ, जुन मोबाइल, कम्प्युटर र अन्तर्राष्ट्रिय संचार प्रणालीमा प्रयोग हुने मानक समय हो।
सम्भावित संकट
केही विज्ञहरूले पृथ्वीको घुमाइ यस्तै रूपमा अनियमित भइरहेमा सन् २००० को वाईटूके समस्या जस्तै डिजिटल प्रणालीहरूमा अवरोध आउने चेतावनी दिएका छन्। यदि यूटीसी समय र पृथ्वीको घुमाइमा फरक अत्यधिक भयो भने समय सिङ्क्रोनाइजेसन प्रणालीहरूमा गम्भीर असर पर्न सक्छ।










