गृहपृष्ठ ‘घुस नखाने व्यवस्था बनाउन सकिएन’, भुसालको तीव्र कटाक्ष
‘घुस नखाने व्यवस्था बनाउन सकिएन’, भुसालको तीव्र कटाक्ष
६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विगत ३५ वर्षमा विभिन्न राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन त भए पनि सुशासन कायम गर्न नसकिएको बताएका छन्।
काठमाडौंमा स्कुल अफ मार्क्सिज्मले पुष्पलाल स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले देशमा पञ्चायती शासन अन्त्य, प्रजातन्त्र स्थापना, राजतन्त्रको विस्थापन, गणतन्त्रको घोषणा र संविधान निर्माणजस्ता महत्वपूर्ण उपलब्धिहरू भए पनि भ्रष्टाचार अन्त्यमा भने असफलता देखिएको टिप्पणी गरे।
उनले भने, “पञ्चायत सकियो, प्रजातन्त्र आयो, राजतन्त्र फालियो, संविधान बन्यो, तर घुस नखाने राज्य व्यवस्था बनाउन सकिएन, यो हाम्रो दुर्भाग्य हो।”
भुसालले नेकपा एमाले र माओवादी केन्द्रप्रति कटाक्ष गर्दै भने, “त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिएछ, तर घुस नखाने नेतृत्व बनाउन सकिएन।”
उनको आरोप छ, वर्तमान पार्टी नेतृत्वले घुस खाएर पार्टी कब्जा गरेका छन् र दलाल पुँजीवादी शक्तिहरूसँग मिलेर कम्युनिष्ट आन्दोलनको आत्मा स्खलित गरेका छन्।
“गुटबन्दी गरेर घुस खाने र पार्टी कब्जा गर्न सकिँदो रहेछ, तर जनताप्रति उत्तरदायी व्यवस्था बनाउँन सकिएन,” उनले भने।
भुसालले पछिल्लो तीन दशकमा भएका राजनीतिक परिवर्तनहरूबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान अवस्था “विचित्र” र “विपथगामी” रहेको टिप्पणी गरे। उनले केही नेताहरू आफ्नै छोराछोरीलाई पनि रोजगार दिन नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै मुलुकमा व्यापक बेथिति मौलाएको बताए।
कार्यक्रममा उनले प्रणालीगत र वैचारिक बहस आवश्यक रहेको भन्दै कम्युनिष्ट आन्दोलनलाई पुनरावलोकन र आत्मसमीक्षा गर्न आह्वान गरे।










