गृहपृष्ठ पक्राउ परेकाको तस्बिर र भिडियो नछाप्न प्रहरीलाई कडाइ: प्रधान कार्यालयको देशव्यापी परिपत्र
पक्राउ परेकाको तस्बिर र भिडियो नछाप्न प्रहरीलाई कडाइ: प्रधान कार्यालयको देशव्यापी परिपत्र
काठमाडौँ, साउन ८ — प्रहरी प्रधान कार्यालयले कुनै पनि अपराध वा घटनामा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न निर्देशन जारी गरेको छ। यो निर्देशन देशभरका प्रहरी युनिटमा परिपत्रमार्फत पठाइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार उक्त परिपत्र महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनको आधारमा जारी गरिएको हो।
“महान्यायाधिवक्ताको कार्यालयले गत असारमै यसबारे निर्देशन पठाएको थियो। त्यसकै कार्यान्वयन स्वरूप प्रहरी प्रधान कार्यालयले सम्पूर्ण मातहत युनिटमा परिपत्र जारी गरेको हो,” प्रवक्ता घिमिरेले जानकारी दिए।
उनका अनुसार पत्रकार सम्मेलन वा कुनै सूचना दिनुपर्ने अवस्थामा पनि पक्राउ परेका व्यक्तिको अनुहार देखिने गरी तस्बिर वा भिडियो नपठाउन र नगर्न भनिएको छ। तथापि, यदि कुनै जघन्य अपराधको सन्दर्भमा तस्बिर वा भिडियो सार्वजनिक नगर्दा राज्यको हित वा सामाजिक असर पर्ने देखिएमा सम्बन्धित निकायको अनुमतिमा मात्र सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ।










