गृहपृष्ठ “नारी नेतृत्वको चम्किलो उदाहरण : रिता केसीको किसान आन्दोलनमा ऐतिहासिक उदय

“नारी नेतृत्वको चम्किलो उदाहरण : रिता केसीको किसान आन्दोलनमा ऐतिहासिक उदय


कल्पना घिमिरे, बुटवल

सामाजिक न्याय, किसान अधिकार र महिला सशक्तीकरणका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी रिता केसी लुम्बिनी प्रदेशको नेपाल किसान महासंघको अध्यक्षमा निर्वाचित भएकी छन्। बिहीबार लमहीमा सम्पन्न महासंघको प्रथम अधिवेशनले उनलाई सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो।

रुपन्देहीकी केसी केवल संगठनकी नेतृ मात्र होइनन्, उनी किसान आन्दोलनको निस्वार्थ योद्धा र महिला राजनीतिक सहभागिताको बलियो आवाजको रूपमा चिनिन्छिन्। किसानका हकहितमा सडकदेखि नीति–निर्माण तहसम्म आवाज उठाउँदै आएकी उनले आफ्नो राजनीतिक जीवनभरर र अडिग नेतृत्वको पहिचान बनाएकी छन्।

साहस र समर्पणको कथा
राजनीतिमा सुरुवाती दिनदेखि नै महिला र किसानका सवालमा स्पष्ट दृष्टिकोण बोकेकी केसीले संगठनमा आफूलाई स्थापित गर्न संघर्षको लामो बाटो हिँडेकी छन्। उनी महिला नेतृका रूपमा मात्रै नभई किसान आन्दोलनको वैचारिक र संगठनात्मक दुवै मोर्चामा अग्रपङ्तिमा उभिन सफल भएकी छिन्।

अध्यक्ष पदमा निर्वाचित भएपछि केसीले किसानका मागलाई संस्थागत रूप दिन, कृषि नीति सुधारका लागि दबाब सिर्जना गर्न र महिला किसानको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिने घोषणा गरिन्। “यो केवल पद होइन, किसान र कृषिप्रधान समाजको भविष्य बदल्ने जिम्मेवारी हो,” उनले भनिन्।

सह–नेतृत्व र टिम
महासंघको उपाध्यक्षमा खड्ग बुढाथोकी (दाङ), तारा चौधरी (बर्दिया) र महेन्द्र मल्ल (बाँके) निर्वाचित भएका छन्। सचिवमा भीमलाल अधिकारी (पाल्पा) र सह–सचिवमा पनि अधिकारी नै निर्वाचित भएका छन्।

त्यसैगरी लिला थापा, लोकराज गिरी, ऋषि चौधरी, कृष्णराम पौडेल, शिवशंकर प्रसाद राय, मात्रिका चौधरी, कल्पना सुवेदी, युगपति पौडेल, माया नेपाल, खुमबहादुर रायमाझी, विनोद ज्ञवाली, लछिराम बुढा मगर, चन्द्रिका प्रसाद विक, पार्वती मल्ल, जगमति गुप्ता, दिनेश कुमार यादव, अरुण अर्याल, लिला चुदाली र सीता पोख्रेल सदस्य पदमा निर्वाचित भएका छन्।

भविष्यको दिशा
रिता केसीको नेतृत्वमा लुम्बिनी प्रदेशको किसान आन्दोलन थप संगठित, सशक्त र नीतिगत रूपमा प्रभावकारी हुने अपेक्षा गरिएको छ। उनी कृषि क्षेत्रमा नयाँ प्रविधि, सहकारी प्रणालीको मजबुती र किसानको आयवृद्धिमा जोड दिने तयारीमा छिन्।

किसान र महिला दुवैको अधिकारलाई एकैसाथ अघि बढाउने लक्ष्य बोकेकी रिता केसीको यो नयाँ यात्रा लुम्बिनीको राजनीतिक र सामाजिक नेतृत्वमा एक नयाँ ऊर्जा र प्रेरणाको स्रोत बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु