गृहपृष्ठ कर छलीविरुद्ध बुटवल राजस्व अनुसन्धानको ठूलो कारबाही, करोडौंको कारोबार अनुसन्धानमा

कर छलीविरुद्ध बुटवल राजस्व अनुसन्धानको ठूलो कारबाही, करोडौंको कारोबार अनुसन्धानमा


२०८२ साउन ९ गते

लुम्बिनी ।राजस्व अनुसन्धान विभागअन्तर्गत बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले अवैध तस्करी र करछलीविरुद्ध अर्को ठूलो कारबाही अघि बढाएको छ।

अनुसन्धानका क्रममा स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरण पेश गर्दै सामान आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गरेको पाइएको छ। उक्त कारोबारमा राजस्व छली भएको निष्कर्षसहित कार्यालयले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको हो।

राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २०(६) बमोजिम दायर गरिएको अभियोगपत्रअनुसार अजय बैङ्गल स्टोरले नौ करोड ९९ लाख ८९ हजार ८४१ रुपैयाँ बराबरको कारोबारमा कर छल्ने प्रयास गरेको देखिएको छ।

राजस्व कार्यालयद्वारा जारी विज्ञप्तिमा सो कारोबारमाथि लाग्ने कुल कर रकम चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबर रहेको उल्लेख छ। सो कर रकममा भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भीएटी), अन्तःशुल्कलगायतका सबै कर समावेश छन्।

राजस्व विभागले बिगो तथा जरिवानासहित उक्त सम्पूर्ण रकम असुल गर्न र संलग्न पक्षलाई कैद सजायको माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिसकेको छ।

प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार राजस्व सुरक्षाका लागि कार्यालयको टोली निरन्तर सक्रिय छ। “गैरकानुनी व्यापार, तस्करी र करछली जस्ता गतिविधिमा संलग्न समूहहरूलाई कानुनी दायरामा ल्याउन कार्यालयले विशेष निगरानी र कारबाही अभियान सञ्चालन गरिरहेको छ,” घिमिरेले बताए।उनका अनुसार यस्ता अनियमितता विरुद्धको कारबाही अझ तीव्र पारिनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु