गृहपृष्ठ प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना, सुख, शान्ति र समृद्धिको कामना
प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना, सुख, शान्ति र समृद्धिको कामना
कार्तिक २९,२०८३
बुटवल टाइम्स
काठमाडौ । प्रधानमन्त्रीले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारमा सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उल्लेख गर्नुभएको छ।
उहाँले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने छठको परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने गहिरो सन्देश दिने बताउनुभएको छ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले छठ पर्वले सकारात्मक ऊर्जा प्रदान गरी देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।
सन्देशको अन्त्यमा उहाँले मैथिली भाषामा ‘छैठके बहुत रास शुभकामना’ व्यक्त गर्दै दीनानाथ र छठ परमेश्वरीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।















